पुथाउत्तरगङ्गा गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव

Posted on: 10 Feb, 2021

माघ २८, रुकुम | रुकुम (पूर्व)को पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो ।

यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत माघ १७ गते छलफल भएको थियो । भौगोलिक दृष्टिले सर्वसाधारणलाई सुविधा नभएकाले हालको गाउँपालिकालाई तीनवटा बनाउन प्रस्ताव गरिएको छ ।

हालको केन्द्रलाई नै केन्द्र मान्ने गरी उत्तरगङ्गा, कोल र जाङको क्षेत्र मिलाएर जामाबगर केन्द्र बनाउने गरी सुनगुफा, हुकाम र मैकोटको केन्द्र गरघाट हुने गरी पुथा गाउँपालिका प्रस्ताव गरिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यसमेतको समर्थनमा गाउँपालिका टुक्र्याउने प्रस्ताव गरिएको हो ।

तेस्रो गाउँपालिका बनाउने प्रस्ताव आएपछि गाउँसभा अनिर्णित बनेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताउनुभयो । पैँतालीस दिनभित्र विशेष गाउँसभा गर्ने र त्यसैबाट थप गाउँपालिकाको सिफारिस गरिने अध्यक्ष घर्तीले बताउनुुभयो । गाउँपालिका विभाजनबारे विवाद बढेपछि आयोग बनाउन छलफल भएको छ । वडा मिलाउने र सीमारेखा पनि अनुकूल हुने गरी सिफारिस गर्न कार्यपालिकाले आयोग बनाउने तयारी गरेको हो ।

पुथाउत्तरगङ्गा–१२ का वडाध्यक्ष गङ्गबहादुर पुन मगरले गाउँपालिका भूगोलमा ठूलो भएपछि सबैले सेवा प्रवाहमा असहज महसुस गरेको बताउनुभयो । माघ १५ गते शुरु भएको गाउँसभा १७ गते स्थगन भएको हो ।

रुकुम (पूर्व)का तीन स्थानीय तहमध्ये पुथाउत्तरगङ्गा सबैभन्दा ठूलो हो । साविकका रन्मामैकोट, हुकाम, जाङ, कोल, राङ्सी र तकसेरा गाविस मिलाएर यो गाउँपालिका बनाइएको छ । यसमा १४ वडा छन् । जिल्लाबाट पुथा र उत्तरगङ्गा गाउँपालिका भनेर सिफारिस गरिए पनि माथिबाट एउटै भएर आएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!