रूकुममा अधिकृत माथि कुटपिट, वडाअध्यक्ष पक्राउ

Posted on: 19 Dec, 2019

पुस ३,रूकुम पश्चिम | रूकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा सञ्चार प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ | बुधबार साँझ ६ बजे कार्यालयको काम सकेर डेरामा जानेक्रममा वडा नम्बर-३ का वडाध्यक्ष केशरमान बिकका भाइ गोपाल बिकको समूहले केसी र चन्दमाथि लुकेर आक्रमण गरेको हो |


स्थानीय ठेकेदारसमेत रहेका गोपालले पहिलादेखि नै वडाध्यक्ष दाइको आडमा वडाका योजनामा हिनामिना गर्ने गरेको चन्दले बताए | गोपालको समूहको आक्रमण परेका केसीलाई पाँच टाँका लगाइएको छ | अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मुसिकोटमा राखिएको छ | वडाध्यक्ष केशरमानलाई प्रहरीले पक्राउ गरेको छ |

उनीमाथि ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूकुम-पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए | उनका भाइ गोपाल भने फरार छन्। केशरमान तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका थिए |

वडाध्यक्ष र उनका भाइविरूद्ध आजै प्रहरीमा जाहेरी दिने चन्दले बताए | कर्मचारी कुटिएपछि सुरक्षाको माग गर्दै कर्मचारीले आजदेखि नगरपालिकाको काम ठप्प पारेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!