मुसीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

Posted on: 15 Jun, 2019

जेठ ३२, रुकुम | रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । दुई सय १० जना बेरोजगारलाई एक महीनाका लागि रोजगारी दिने उद्देश्यले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको हो ।

आज मुसीकोट नगरपालिका– ५ शेरीगाउँमा रहेको नगरपालिका कार्यालय अगाडिको सडकमा वर्षात्का कारण भरिएका नाली सफा गर्दै यो कार्यक्रमको शुरुआत गरिएको हो । रोजगारीका लागि छनोट भएकालाई अब आइतबारदेखि वडावडामा छानिएका योजनामा खटाइने नगरपालिकाले जनाएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा आएको रु ४३ लाख बजेट नगरका १४ वडाका २१० जनाले झण्डै एक महीना बराबरको रोजगारी पाउने नगरपालिकाका रोजगार संयोजक माया श्रीवास्तवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमकाका लागि दुई दर्जन बढी योजना छनोट भएका छन् । जसमध्ये सबैभन्दा बढी गोरेटो बाटो निर्माणसम्बन्धी रहेका छन् । 

प्रतिक्षालय, चौतारी, खेल मैदान, सचेतना केन्द्र भवन, वाल जाली निर्माण, बालमैत्री शौचालय, धारा, सामुदायिक भवन, पर्खाल र विद्यालयका फिल्ड निर्माणका योजना पनि रहेको संयोजक श्रीवास्तवले बताउनुभयो । कम पर्ने वडामा एउटा र बढी पर्ने वडामा ३०० सम्म योजना परेको बताइएको छ ।

रोजगारीका लागि छनोटमा परेकाका लागि नगरपालिकाले अभिमुखीकरणको आयोजना गरेको थियो । नगर प्रमुख देविलाल गौतमले आफूले पाएका जिम्मेवारी इमान्दारीताका साथ निर्वाह गर्न रोजगारीको अवसर पाएकालाई अनुरोध गर्नुभयो । 

चौधवटै वडाबाट बोलाएर उनीहरुले गर्नुपर्ने कामका बारेमा सम्झाएर पठाएको रोजगार संयोजक श्रीवास्तवको भनाइ छ । उनीहरुले आइतबारदेखि वडावडामा छनोट भएका योजनामा काम गर्ने छन् ।  

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छ स्थानीय तहका लागि रु दुई करोड सात लाख जिल्लामा आएको छ । सबैभन्दा बढी बजेट मुसीकोटमा आएको छ भने बढी बेरोजगारलाई मुसीकोटले नै रोजगार बनाउँदै छ । जिल्ला भरमा ९३४ बेरोजगारले रोजगारी पाउँदै छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!