रुकुमकोटमा प्रवेश निषेधाज्ञा जारी

Posted on: 04 Feb, 2019

माघ २१, रुकुम (पूर्व) (रासस) | सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो । 

रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो । सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न÷गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को शहीपार्क हुँदै रुमालबारासम्म प्रवेश निषेधाज्ञा आदेश जारी गरेको छ । सदरमुकामको विवादका कारण रुकुमकोट तनावग्रस्त छ । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोटका बासिन्दा एक वर्षदेखि आन्दोलित छन् । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१२ गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेको थियो । अहिलेसम्म कुनै फैसला भएको छैन । साविक जिल्ला रुकुमको सदरमुकामसमेत यहाँबाट खोसिएको हुँदा आफूहरुलाई पटक-पटक अन्याय भएको रुकुमकोटवासी बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!