मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा

Posted on: 30 Aug, 2020

भदौ १४, रुकुमपश्चिम । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६÷०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ । 

पशु तथा कृषि पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्न सङ्घीय सरकाररले बीमाको व्यवस्था गरेको छ । बीमावापतको ७५ प्रतिशत रकम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्ने व्यवस्था छ । मुसीकोट नगरपालिकाले कृषकले तिर्नुपर्ने २५ प्रतिशत तिरिदिने गरेको छ । सङ्घीय र  स्थानीय सरकारले रकम व्यहोरेपछि नगरपालिकाका कृषकले गत वर्षदेखि निःशुल्क पशु र बाली बीमाको सुविधा पाइरहेका छन् ।  

सो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको नगर प्रमुख देवीलाल गौतमले जानकारी दिनुभयो । कृषकको आकर्षण राम्रो भएको र  व्यावसायिक रुपमा कृषि पेशामा लाग्न मद्दत पुगेकाले निरन्तरता दिइएको उहाँको भनाइ थियो । 

यस वर्ष नगरपालिकाले पशु र बाली बीमाका लागि रु दुईदुई लाख बजेट विनियोजन गरेको छ । गत वर्ष पनि शुरुमा यति नै बजेट विनियोजन गरिएकामा अपुग भएपछि पशु बीमाका लागि रु तीन लाख ८० हजार थप गरिएको थियो । गत वर्ष दुई हजार २ १४  पशुको बीमा गरिएको थियो । 

छ सय २८  कृषकका  ५०३ भैंसी, १२३ गाईगोरु, २११ भेंडा र एक हजार ३७७ बाख्राको बीमा गरिएको नगर कृषि सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो । “गत वर्ष शुरुमा विनियोजन गरिएको दुई लाख बजेट नपुगेर पछि तीन लाख ८० हजार बजेट थप गरिएको थियो, यस वर्ष पशु बीमा र पशु उपचार भनेर दुई लाख बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो ।

त्यस्तै गत वर्ष बाली बीमाको सेवा भने ६६  कृषकले लिएका छन् । कृषकले आलु, काउली, टमाटरलगायत तरकारी बालीको बीमा गरेको नगर कृषि शाखा अधिकृत यज्ञबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार गत वर्ष रु दुई लाख बजेट विनियोजन गरिएकामा रु एक लाख चार हजार नौ सय खर्च भएको थियो । बीमा गरेपछि कृषकले आफ्नो कृषि बाली तथा पशुपालनमा क्षति पुगे बीमावापत क्षतिपूर्ति पाउने गरेका छन् । यसले लगानी डुब्ने र सोही कारण कृषि तथा पशुपालनबाट पलायन हुने बाध्यता कम गर्न सहयोग पुगेको कृषक बताउँछन् ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!