घुस लिएको अभियोगमा सव इञ्जिनीयर पक्राउ

Posted on: 07 Jun, 2019


जेठ २४ , काठमाडौँ (रासस )अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

 योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगका सहसचिव कालीप्रसाद पोखरेलेका अनुसार आरोपी श्रेष्ठको थप अनुसन्धान भइरहेको छ । 

आयोगले सशस्त्र प्रहरी बल, नेपाल, ११ नं गण, हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झालाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भन्दै जवान झाले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ । आरोपी सशस्त्र प्रहरी जवान झाको थप अनुसन्धान भइरहेको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ ।नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । यस्तै मालपोत कार्यालय चावहिल काठमाडौँका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई रु दुई हजार घुससहित आयोगले पक्राउ गरेको छ ।

एक विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले नायब सुब्बा श्रेष्ठलाई कार्यालय परिसरबाट बिहीबार पक्राउ गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!