मेला महोत्सवले बिर्साए रोल्पालीको द्वन्द्वकालीन घाउ

Posted on: 29 Jan, 2019

उमा केसी । माघ १५, रोल्पा (रासस) । दशवर्षे लामो सशस्त्र युद्धमा ठूलो पीडा भोगेका रोल्पाली शान्ति प्रक्रिया पछि भने विभिन्न मेला महोत्सवमा रमाउन थालेका छन । 

युद्धताका जिल्लाको एक स्थानबाट अर्को स्थानमा जानुपर्दा अनुमति लिनुपर्ने बाध्यता भोगेका यहाँका बासिन्दा शान्ति प्रक्रिया पछि भने स्वतन्त्र ढङ्गले आवतजावत गर्दै मनोरञ्जनमा समेत सहभागिता जनाउन थालेका हुन् । द्वन्द्वका कारण मनोसामाजिक समस्या भोगेका उनीहरु मेला महोत्सवमा हुने रमाइलोसँगै द्वन्द्वका घाउसमेत बिर्सन थालेका छन् । 

सङ्घीय संरचनासहितको जनप्रतिनिधि चयन भएसँगै जिल्लामा विभिन्न मेला महोत्सव र खेलकूद कार्यक्रमले तीव्रता पाएका छन् । स्थानीय सरकारले ठूलो धनराशि यसै क्षेत्रमा खर्च गरिरहेका छन् । जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन, संस्कृति र खेलकूद क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले मेला महोत्सव गर्नेको ताँती लागेको छ । 

स्थानीय सरकार, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत लगानीमा समेत यस्ता मेला महोत्सव सञ्चालन हुने भएका छन् । माघ २ गतेदेखि शुरु भएको महोत्सव फागुन पहिलो सातासम्म चल्ने भएको छ । 

माघ २ गते रोल्पा नगरपालिकाको माडीचौरमा माघी तथा खेलकूद महोत्सवका नाममा शुरु भएको उक्त महोत्सव चतुर्भुज महोत्सवका नाममा फागुन पहिलो सातापछि खुङ्ग्रीमा पुगेर समापन हुनेछ । महोत्सव उद्घाटन गर्न प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती, मन्त्री वर्षमान पुन तथा राष्ट्रियसभा र प्रदेशसभामा रोल्पाबाट निर्वाचित जनप्रतिनिधि रोल्पा आउनेक्रम शुरु भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माघ २ गते माडीचौरको माघी तथा खेलकूद महोत्सव उद्घाटन गर्नुभयो । मन्त्री पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती र प्रदेशसभा सदस्य दीपेन्द्र पुन मगरको पनि उपस्थिति थियो । विगत केही वर्षयता निरन्तररुपले सोही मितिमा चल्दै आएको उक्त महोत्सवलाई यस वर्ष विगतमा झैँ खासै प्रचारप्रसार भने गरिएको थिएन । यसपूर्व सो महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता रहे पनि यस वर्ष भने सङ्घीय सरकारका मन्त्री पुनले प्रमुख आतिथ्यता ग्रहण गरी उद्घाटन गर्नुभएको थियो । 

महोत्सवमा स्थानीय कलासंस्कृति र वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो । मौलिक संस्कृतिको संरक्षणलाई जिवन्त राख्न यस्ता महोत्सवले ठूलो भूमिका खेल्ने महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र घर्तीले बताउनुभयो । 

यसैगरी माघ ३ गते उत्तरी रोल्पाको थबाङ गाउँपालिकाले गाउँपालिका कप भलिबल प्रतियोगिता आयोजना गरेको थियो । महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता हुने उक्त महोत्सवलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभएको थियो । 

भलिबलका क्षेत्रमा जिल्लामा हालसम्मकै ठूलो राशि पुरस्कारसहित उक्त प्रतियोगिता आयोजना भएको थियो । गाउँपालिकाले आयोजना गर्ने उक्त गाउँपालिका कप भलिबल प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख र रु ५० हजार पुरस्कारको व्यवस्था गरिएको थवाङ गाउँपालिकाले जनाएको छ । 

उक्त प्रतियोगिता साताव्यापी चलेको थियो । खेलकूदमार्फत थवाङको कलासंस्कृतिको प्रवद्र्धन र पर्यटकीय क्षेत्रको प्रचारप्रसार भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताउनुभयो । खेलकूद महोत्सवका अवसरमा थवाङ हेर्न गाउँपालिका बाहिरबाट ठूलो सङ्ख्यामा मानिस आउँदा यहाँका व्यवसायीलाई पनि फाइदा पुगेको गाउँपालिकाको बुझाइ छ । 

जिल्लाको सुनिल स्मृति गाउँपालिका सुलिचौरमा माघ १८ देखि २४ सम्म रोल्पा उद्योग वाणिज्य सङ्घले दोस्रो रोल्पा महोत्सवको आयोजना गर्न लागेको छ । महोत्सवलाई सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा बहालवाला र पूर्वजनप्रतिनिधिको आतिथ्यता रहने आयोजक समितिका संयोजक विश्वकुमार चन्दले जानकारी दिनुभयो । 

महोत्सव अवधिभर ६० हजारभन्दा बढीले अवलोकन गर्ने र त्यसबाट रु दुई करोड बढीको कारोवार हुने रोल्पा उद्योग वाणिज्य सङ्घको लक्ष्य छ । महोत्सवलाई सबै पक्षको सहभागितामा सम्पन्न गर्ने तयारी भइरहेको बताइएको छ । 

सर्वपक्षीय सहभागितामा २२३ सदस्यीय मूल आयोजक समिति बनाएर कामको थालनी गरेका छाँै रोल्पा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष केशवकुमार आचार्यले जानकारी दिनुभयो । 

माघ २५ देखि साताव्यापीरुपमा पूर्वी रोल्पाको खुङ्ग्रीमा चतुर्भुज महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको छ । स्थानीय व्यापारी इमानसिं विष्टको अगुवाइमा हुने उक्त महोत्सवकोसमेत जिल्लामा प्रचारप्रसार भइरहेको बताइएको छ । पूर्वी क्षेत्रको कृषि, व्यापार, कलासंस्कृति र पर्यटन क्षेत्रको विकासका लागि आफूहरुले उक्त महोत्सव आयोजना गर्न थालेको इमान विष्टको भनाइ छ । 

यस्ता मेला महोत्सवले आपसी सम्बन्ध र भाइचारालाई समेत प्रवद्र्धन गर्ने बताइन्छ । द्वन्द्वको लामो चपेटामा परेका जिल्लावासी एकै ठाउँमा बसेर भलाकुसारी गर्ने र विगत भुल्दै मनोरञ्जन गर्ने साधन पनि बन्दै जान थालेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!