गुरुङ गाउँमा बहुउद्देश्यीय भवन

Posted on: 24 Jun, 2020

असार १०, रोल्पा । स्थानीय गुरुङ गाउँमा पर्यटन विकासका लागि बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सामुदायिक घरबास प्रवद्र्धनका लागि उक्त भवन निर्माण गरिएको हो । 

गुरुङको घना बस्ती रहेको सो स्थानमा निर्माण गरिएको सामुदायिक भवनमा  कला, संस्कृति र  वेशभूषा संगृहीत गरिने गुरुङगाउँ सामुदायिक होमस्टेका अध्यक्ष हरिशजंग गुरुङले जानकारी दिनुभयो । नब्बेभन्दा बढी गुरुङका  घर रहेको सो स्थानमा पाँच घरमा घरबास सञ्चालन गरिएको छ ।  गुरुङ परिकारका साथै ढिँडो, सिस्नो, खोले, स्थानीय कुखुरा, मकै, भटमास, दही, मही जस्ता स्थानीय परिकार उपलब्ध हुने भएकाले उक्त घरबासमा जानेको संख्या उल्लेख्य रहेको घरबास सञ्चालक पविसरा गुरुङले जानकारी दिनुभयो ।  पर्यटकलाई स्थानीय किसानले उत्पादन गरेको मकैको थोता रङ्गाएर बनाएको माला पहिर्याएर स्वागत सत्कार गर्ने प्रचलन छ । 

अहिले कोरोना भाइरसका कारण  भएको बन्दाबन्दीले चहलपहल घटेको गुरुङले बताउनुभयो । जिल्ला सदरमुकाम लिबाङदेखि एक घण्टाको उकालो पैदल यात्रा गरी पुगिने उक्त स्थानवाट रमणीय दृश्यावलोकन गर्न सकिन्छ । लिवाङ गुरुङगाउँ हुँदै सातदोबाटोस्थित नेपालकै अग्लो भ्यूटावर जाने सडक जोड्न सके यहाँको पर्यटनमा योगदान पुग्ने स्थानीयवासी देवी गुरुङको भनाइ छ । 

संघीय सरकारको रु दुई करोड ८९ लाख ४४ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । सामुदायिक भवनका दुई तलामा बैठक कक्ष र  मञ्च तथा बाहिर ढोकासहितको आकर्षक उद्यानसमेत निर्माण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङको प्राविधिक सहयोगमा उक्त भवन निर्माण गरिएको होम स्टेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । रासस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!