गोली प्रहार गरी प्रहरीको हतियार लुट्ने फरार अभियुक्त पक्राउ

Posted on: 20 Aug, 2019

भदौ ३, रौतहट । गोली प्रहार गरी प्रहरीको हतियार लुट्ने फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का रामएकवाल सहनी रहेका छन् । सहनीलाई सोमबार साँझ गरुडा–२ को झाँझपुलबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार २०६७ साल मंसिर १७ गते ईलाका प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक लवजंग चौहानलाई गोली प्रहार गरीे उनको साथमा रहेको ५४ एमएमको ठूलो चाइनिज पेस्तोल लुटेर सहनी फरार थिए ।

सर्लाहीको भवानीपुर ३ सुकुमारी मन्दिर नजिकै तत्कालिन भूमिगत संगठन तराई मुक्ती मोर्चा र प्रहरीबीच गोली हानाहान हुनेक्रममा उक्त हतियार लुटिएको थियो । सो समूहका ५ मध्ये २ जनाको मृत्यु भइसकेको र एक जना केही महिनाअघि पक्राउ परिसकेको उनले बताए । उक्त घटनामा संलग्न एक आरोपी अझै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहनीलाई हातहतियार तथा खरखजाना मुद्दामा आवश्यक कारवाहीका लागि सर्लाहीको जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!