चन्दा नदिएको भन्दै मेयरमाथि कुटपिट, आक्रमण गर्नेहरु फरार

Posted on: 05 Jun, 2019

जेठ २२, रौतहट । इद मनाउन चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले रौतहट जिल्लाको राजपुर नगरपालिकाका मेयर शेख सकिल अख्तरलाई कुटपिट गरेका छन् । मंगलबार राति भएको उक्त घटना राजपुरको महम्मुदिया मस्जिदमा भएको हो ।

ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा मागेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुले मेयर सकिल माथि आक्रमण गरेको थियो ।

मस्जिदमा नवाज पढ्न गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माँग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताए । टाउकोमा चोट लागेका उनी उपचार पछि घर फर्किएका छन् ।

मेयरमाथि हातपात भएको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले पुष्टि गरे । टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।

मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार छन् । उनीहरुको पहिचान भएको र खोजी कार्य जारी रहेको डिएसपी कार्कीले बताए ।

तश्वीरमा: राजपुर नगरपालिकाका मेयर शेख सकिल अख्तर

यस बिषयमा तपाइको प्रतिक्रिया...!