रसुवामा पनि कोरोना सङ्क्रमण, सबै विदेशबाट आएका

Posted on: 27 Jun, 2020

असार १३, रसुवा | हिमाली जिल्ला रसुवामा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुवेत र भारतबाट आएका नौ जनामा आज कोभिड –१९ सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रसुवामा सङ्क्रमण पुष्टि भएसँगै अब मुलुकका ७७ जिल्ला नै कोरोनाबाट प्रभावित भएका छन् । 

उनीहरु एक हप्ताअघिदेखि नौकुण्ड गाउँपालिका, पारच्याङ क्वारेन्टिनमा बसेका थिए । तिनीहरुमा आठ महिला र एक पुरुष रहेको जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बताउनुभयो ।  विदेशबाट आएका १७ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा पठाइएकामध्ये नौ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि ग्रामीण स्वास्थ्य अस्पताल, जिबजिबेको आइसोलेशनमा लगिएको जनाइएको छ । 

उनीहरुलाई विदेशबाट आउनेबित्तिकै क्वारेन्टिनमा राखिएको तथा परिवार र अन्यसँग भेट गर्न नदिइएको बताउँदै नौकुण्डका अध्यक्ष नुर्पुसाङ्बो घलेले थप सतर्कताका लागि सबै वडामा अनुरोध गरिसकिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार अहिलेसम्म सुरक्षित रसुवामा कोभिड–१९ पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!