रसुवागढी नाकाबाट रु. एक करोड ६० हजारको सुन बरामद

Posted on: 27 Jan, 2020

माघ १३, रसुवा | रसुवागढी नाकाबाट अवैध तरिकाले  नेपाल भित्र्याइएको सुन आज यहाँ बरामद भएको छ । पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य रु एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी  अर्जुन भण्डारीले जानकारी दिनुभयो । 

सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी टिमुरेले ना १ ज ३५४२ नंको टाटासुमो जीप  खानतलास गरी घटृेखोलाबाट बरामद गरेको बताइएको छ । साढे दुई केजी सुनमध्ये एक केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी  चालकको सिटमुनि  लुकाइएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको  प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताउनुभयो । अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको र   घटनाबारे मङ्गलबार पत्रकार सम्मेलन गरिने जनाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!