गोसाइँकुण्ड पदयात्रामा हराएका दुई जना युवकको शव भेट्टियो

Posted on: 27 Jan, 2020

माघ १३, बेत्रावती | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवकको शव सोमबार भेट्टिएको छ | गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए |

उनका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो ।

हराएका युवाको खोजीका लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरे पनि अवस्था थाहा हुन सकेको थिएन । उनीहरुको खोजीका लागि गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएकामध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवै जनाको शव बरामद गरेको हो ।

शव परीक्षणका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!