धुञ्चे क्षेत्रमा हिमपात

Posted on: 09 Feb, 2019

माघ २६, रसुवा | तीन दिनदेखिको निरन्तर वर्षासँगै आज धुञ्चे क्षेत्रमा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गुम्बुडाँडाभन्दा माथिल्लो भेगअन्तर्गत सदरमुकाम धुञ्चेलगायत रसुवाको अधिकांश भागमा गए रातिदेखि हिमपात परेका कारण निकै चिसो भएको छ । 

यही माघ ८ गतेबाट पानी पर्न शुरू भएको र पटकपटकको वर्षासँगै परेको हिमपात यतिखेर समुद्री सतहदेखि एक हजार ६०० मिटरको भू–भागमा पुगेको बताइएको छ । ज्येष्ठ नागरिकलाई चिसोले बढी असर पुर्याएको छ भने युवा हिउँ खेल्न जुटेका छन् । धुञ्चेमा भने छ वर्षपछि हिमपात भएको समाजले जनाएको छ । उत्तरी रसुवा गत्लाङबाट प्राप्त जानकारीअनुसार गत्लाङ क्षेत्रमा एक मिटरभन्दा बढी हिमपात भएको छ । 

हिमपातले मानिस घर बाहिर निस्कने अवस्था नभएको २०० भन्दा बढी चौपायाको चरण क्षेत्र हिउँले छोपेबाट घाँसको सङ्कट पर्दै गएको गत्लाङका स्थानीयवासी मार लामाले बताउनुभयो । हिमपातको समयमा पशु आहारा सञ्चय गर्न कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकद्वारा विगतमा पाएको सीपले सुकाइ राखेका घाँस पनि सकिँदै गएको पशुपालक किसानले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!