प्रदेश नं ३ का सांसदले नुवाकोट र रसुवा भ्रमण गर्ने

Posted on: 19 Jan, 2018

माघ ५ , नुवाकोट  | प्रदेश नं. ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् । 

यही माघ ७ र ८ गते निर्धारण भएको दुईदिने कार्यक्रमअन्तर्गत दुई जिल्लाका समन्वय समितिले छुट्टाछुट्टै कार्यक्रममार्फत ३ नं. प्रदेशका सांसदलाई सम्मान तथा बधाई दिन लागेका हुन् । जिसस नुवाकोटका प्रमुख शन्तमान तामाङका अनुसार ३ नं प्रदेशबाट प्रत्यक्षमा निर्वाचित ६६ जना र समानुपातितर्फबाट सिफारिस भएका ४४ जना गरी १०० जना प्रदेश सांसदलाई दुई जिल्लाको भ्रमण गराउँदै सम्मान तथा बधाई दिन लागिएको हो । 

३ नं. प्रदेशअन्तर्गत १३ जिल्लाका १०० जना सांसद काठमाडौँमा भेला भएर माघ ७ गते बिहान टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोट आइपुग्ने कार्यक्रम तय भएको छ । माघ ७ गते नुवाकोट आइपुग्ने सांसद माघ ९ गते बिहानसम्मको बसाइमा जिसस नुवाकोट र रसुवाको सम्मान स्वीकार गर्ने र रसुवागढी नाकासम्मको भ्रमण गर्ने कार्यक्रम मिलाइएको छ । 

यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिकालगायतका स्थानीयतहको स्वागत, सम्मान र बधाई स्वीकार गर्ने, नुवाकोटमा रहेका ऐतिहासिक धार्मिक एवं पुरातात्विक सम्पदाको भ्रमण अवलोकन गर्ने, नुवाकोटको वस्तुस्थितिको वृत्तचित्रमार्फत जानकारी लिने कार्यक्रमसमेत तय भएको जिल्ला समन्वय अधिकारी केशरबहादुर पण्डितले जानकारी दिनुभयो । 

३ नं प्रदेशको राजधानी नुवाकोट माग गर्दै आएका यहाँका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाजलगायतका अभियन्ताले प्रदेश सांसदको जिल्ला आगमनको समयमा आफ्नो मागको सम्बन्धमा ध्यानाकर्षण गराउने अवसरका रुपमा समेत प्रयोग गर्ने तयारी गरेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!