मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Posted on: 15 Apr, 2021

बैशाख २, काठमाडौँ  । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ । प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । 

तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावका पक्षमा मतदान गर्ने प्रदेशसभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य कुमार खड्काले जानकारी दिनुभयो । नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बनिसकेपछि संविधानको धारा १८८ (२) अनुसार गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महीनाको समयसीमा नाघ्दासमेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गर्नुभएको प्रस्तावक दलले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्रीले हठात् अधिवेशनको अन्त्य गर्नुभएको भन्दै भत्र्सना गर्नुभयो ।

माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारका विरुद्ध विकल्पमा सरकार दिनुपर्छ भन्ने कुरामा आफूहरू एकमत बनेको धारणा राख्नुभयो । जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आफूहरू सहमतिका साथ अघि बढ्दै प्राविधिक कुरा मिलाएर जाने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!