वीरगञ्जमा धोबिया टोलवासीको पीडा : दशगजा क्षेत्रमा बस्नु दुर्भाग्य

Posted on: 28 Jul, 2019

साउन १२, वीरगञ्ज | प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा र बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएको छैन ।

सो दशगजा क्षेत्रमा रहेका करीब ११५ घरधुरीका मुस्लिम समुदायको बस्ती ४०५ नम्बरको पिलर नजिक दशगजा क्षेत्रमा बसेको बस्ती हो । सीमापारी पूर्व–पश्चिम फैलिएको गण्डक नहर र रेल्वेलिकले बाढीको पानी निकासमा बाधक बनेकाले प्रत्येक वर्षको वर्षामा यो बस्ती जोखिममा पर्ने गरेको छ ।

 गत असारको अन्त्यतिर आएको अविरल वर्षाबाट प्रभावित भएको यो बस्ती हालसम्म डुबानमै छ । अहिलेसम्म चारैतिर पानी नै पानी जमेकाले बस्ती टापुमा परिणत भएको छ । गण्डक नहरका लागि झकडा मसिहानीस्थित गङ्गोल (पुराना) खोलामा बनाइएको पुलबाट गाउँमा पानी पस्ने गरेको भए पनि सो पानी निकास नहुँदा बस्ती प्रभावित हुने गरेको स्थानीयवासी बताउँछन् ।

पीडितहरुलाई राहतको नाममा चिउरा, दालमोठजस्ता राहतका सामग्री वितरण गरिए पनि ठोस उपाय हुन नसकेको पीडितहरुको गुनासो छ । प्रत्येक वर्ष वर्षाले जलमग्न हुने सो बस्तीलाई अन्यत्र सार्ने प्रयास गरिए पनि धोबियाटोलवासी पुख्र्यौली ठाउँ छाडेर अन्यत्र जान मानिरहेका देखिँदैनन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!