लाइभ कार्यक्रमबाट उपेन्द्र यादव वाहिरिएपछी एभिन्यूजको कार्यालय तोडफोड

Posted on: 13 May, 2019

वैशाख ३०, पर्सा | वीरगञ्जमा रहको एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल ट्रेडीङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ/सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् । 

मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले टेलिभिजन कार्यालयमा जडान भएको सिसी टिभीमा देखिएको तस्बीरको छानबिन भइरहेको र चाँडै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो घटनाको नेपाल पत्रकार महसङ्घ प्रदेश नं २ र पर्सा शाखाले आजै विज्ञप्ति प्रकाशित गरी भत्र्सना गरेको छ । साथै घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । अन्तरवार्ताको विषयलाई लिएर भएको सो आक्रमणको भत्र्सना गर्दै महसङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले संलग्नलाई कारवाहीको माग गर्नुभएको छ । 

घटना के हो ? 

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो । उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्कएका थिए । सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!