परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छःनेता डा महत

Posted on: 06 Feb, 2021

माघ २४, पर्सा | नेपाली कांग्रेसका नेता डा रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताउनुभएको छ । 

नेपाली कांग्रेसका शुभेच्छुक सस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक सङ्कट सिर्जना भएको आरोप लगाउनुभयो । 

नेता महतले अब कांग्रेस पार्टीलाई सबै नागरिकको भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसले संविधानको रक्षा गर्दै ७० वर्षदेखिको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको अध्यक्षतामा सम्पन्न भएको सभामा कांग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीले मुलुकमा बढ्दै गएको अपराध, महँगाई, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाउनुभयो । 

यसअघि नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले प्रतिनिधिसभा विघटनविरुद्ध आज वीरगञ्जको घण्टाघर चोकबाट निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी पुनः घण्टाघर पुगेर सभामा परिणत भएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन सङ्घ र नेपाल प्रेस युनियनलगायतका शुभेच्छुक संस्थाहरूको आह्वानमा नगर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनः स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर र भ्रष्टाचार अन्त्य गरजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!