मुलुककै अग्ला पुल हेर्न पर्यटकको घुइँचो

Posted on: 20 Nov, 2018

लक्ष्मीप्रसाद सापकोटा | मङ्सिर ४, पर्वत | जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । 

अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपुर्ण पदमार्गमा जाने बाह्य पर्यटकको रोजाइमा यहाँका अग्ला पुल पर्न थालेका छन् । पुल हेर्न र तर्नका लागि यस वर्ष बाह्य पर्यटक पनि बाक्लै रुपमा आउन थालेको स्थानीयवलासी बताउँछन् । 

मुस्ताङ जान हिँडेका तथा मुस्ताङबाट फर्किने, कालीगण्डकीमा जलयात्रा गर्न आउने र राउण्ड अन्नपूर्ण पदमार्गमा जाने पर्यटक एक दिन समय लम्ब्याएर अग्ला पुल हेर्न आउन थालेको पर्यटन व्यावसायी बताउँछन् । यस वर्ष झण्डै पाँच सयभन्दा बढीको सङ्ख्यामा बाह्य पर्यटक अग्ला पुल हेर्न आएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा रहेका मुलुकका तीन अग्ला र लामा पुल पर्यटकको रोजाइमा पर्न थालेका छन् ।” 

मनाङ र मुस्ताङ पुगेर फर्किएका झण्डै ५० अष्ट्रेलियन नागरिकले सोमबार पुल अवलोकन गरेका थिए । अग्ला पुलमा मोटरसाइकल समेत सञ्चालन गर्न पाइने भएपछि पर्यटकले मोटरसाइकल चढेर पुलमा ओहरदोहर गरी आनन्द लिने गरेका छन् । “मुस्ताङबाट फर्किदा अग्ला पुल हेर्ने पर्यटकले इच्छा व्यक्त गर्ने गरेका छन्,” पर्यटक पथप्रदर्शक रमेश मोक्तानले भन्नुभयो । उहाँले भन्नुभयो, “पुल देखेपछि पर्यटक अचम्मित र आनन्दित हुने गरेका छन् ।” 

कुश्मामा सञ्चालनमा आएका तीन पुलमा अहिले आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । पर्वत आसपासका जिल्लाका बासिन्दाले बिदा मनाउन झोलुङ्गे पुल आउने गरेको पौडेलले बताउनुभयो । केही वर्षयता शैक्षिक भ्रमणको गन्तव्य नै अग्ला र लामा पुल, यान्त्रिक पुल र जिल्लामा रहेका दुई लामा गुफा भएका छन् । गुप्तेश्वर गुफा, अलपेश्वर गुफा र कुश्मा–बलेवा यान्त्रिक पुल पर्यटकको रोजाइ पर्न थालेको छ । 

अग्ला पुल भएका स्थल बिदाको दिन भरिभराउ हुन्छन् । कुश्मा–ज्ञादी पुल आठ वर्षअघि सञ्चालनमा आएको हो । कुश्मा–कैया पुल चार वर्ष अघि तथा कुश्मा–मुडिकुवा पुल गत मङ्सिरदेखि सञ्चालनमा आएको हो । अहिले यी तीनै अग्ला पुल अवलोकन गर्न दैनिक पाँच हजारभन्दा बढी नागरिक आउने गरेका छन् । “बिदाको दिन सात हजारभन्दा बढी जनाले अवलोकन गर्छन्,” पौडेलले भन्नुभयो । 

कालीगण्डकी, मोदीखोला र माछापुच्छ«ेसहितका आकर्षक हिमालको समेत दृश्यावलोकनका कारण पनि आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने गरेका छन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेको पौडेल बताउनुहुन्छ । पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण गरिए पनि अवलोकनका लागि मात्र पर्यटक आउँदा पुल वरपरको व्यापार व्यवसाय फस्टाएको छ । अहिले तीनवटै पुल वरपर होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । पुल निर्माणपछि त्यसक्षेत्रको जग्गाको मूल्यसमेत बढेको छ । 

कुश्मा–ज्ञादी पुलको उचाइ १३५ मिटर तथा लम्बाइ ३४४ मिटर रहेको छ । कुश्मा–कैया पुलको उचाइ १५५ मिटर तथा लम्बाइ ३५९ मिटर रहेको छ । सो पुलले दक्षिणी भेगका फलेवास नगरपालिका, महाशीला गाउँपालिका, पैयूँ गाउँपालिका र बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकामसँग जोडेको छ । कुश्मा कैया पुलबाट बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन् । उनीहरुलाई बजारसम्मको पहुँच सहज भएको छ । 

पुलमा नियमितरूपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । फलेवास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी र फलफूल बजारसम्म पु¥याउन सहज बनाएको मुडिकुवाका युवनाथ रेग्मीले बताउनुभयो । हिउँदयाम शुरु भएसँगै पुलमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको पर्यटन व्यावसायी पौडेलले बताउनुभयो । होटलमा बास बस्न आउनेको सङ्ख्यामा समेत वृद्धि भएको स्थानीय होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!