मालपोत कार्यालयमा तोडफोड

Posted on: 18 Dec, 2020

पुस ३, पर्वत । मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् ।

कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्याएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!