आसेपासेलाई सुटुक्क करोडौको ठेक्का

Posted on: 03 Jun, 2019


पर्वत । नवजागृत माध्यमिक विद्यालयमा करोडौको ठेक्का आफ्ना आसेपासेलाई दिएको भन्दै त्यसको चर्को विरोध भएको छ । 

नमूना विद्यालय विस्तार कार्यक्रम अन्तरगत नमूना विद्यालयका रुपमा छनोट भएको मोदी ६ तिलाहारको नवजागृत माविमा परेको ल्याबसहितको आठ कोठे भवनसहित चार कोठाको ट्रसको भवन निर्माणको लागि बोलपत्र आह्वान गरिएपनि सुटुक्क आफ्ना आसेपासेलाई ठेक्का दिएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ ।

शिलबन्दी गोप्य दरभाउसहित निवेदन दिन बैशाख ३० गते ५ बजेसम्म  गरिएको र त्यो समयसम्म निर्दोष निर्माण सेवा र अपार निर्माण सेवाको मात्रै निवदेन परेपनि विद्यालयको भवन निर्माण समितिले समिर कन्ट्रक्सनलाई गोप्य रुपमा भवन निर्माणको जिम्मेवारी दिएको खुल्न आएको छ । 

भवन निर्माण समितिले मनपरी र नियम विपरित आफ्ना आसेपासेलाई उक्त ठेक्का दिएको भन्दै निर्दोष निर्माण सेवा र अपार निर्माण सेवाले मोदी गाउँपालिकामा छानविन गर्न माग सहित निवेदन दिएका छन् ।

उनीहरुले आफूहरुमाथि अन्याय हुने गरी शिलबन्दी गोप्य दरभाउसहितको निवेदन नै नदिएको तेस्रो पक्षलाई ठेक्का दिएको र  लाखौको चलखेल गर्ने काम गरेको भन्दै छानविनको माग गरेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!