कुस्मा–बलेवा यान्त्रिक पुल बन्द, महीना दिनभित्रै तल्लो मोदीको विद्युत् उत्पादन

Posted on: 24 Feb, 2019

फागुन १२, पर्वत (रासस) | कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो । 

पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका–१४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक ५०० सर्वसाधारण आवातजावत गर्दै आएका छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा एक÷एक वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गरिएको श्रेष्ठले बताउनुभयो । 

तर यसपटक २५ महीनापछि मात्रै लठ्ठामा समस्या देखिएपछि जोखिम उठाउनुभन्दा बन्द गरेर मर्मत गर्न लागिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका सञ्चालक केदारनाथ शर्माले जानकारी दिनुभयो । पुल मर्मत गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान छ । भारतबाट सोमबारसम्ममा प्राविधिक आइपुग्ने र मर्मतको काम थाल्ने योजना रहेको छ । 

यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारण एक घण्टाको घुमाउँरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङ्गेपुलको प्रयोग गरी आवातजावत गर्न बाध्य भएका छन् । यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन् । 

यो पुल कुश्मा–बलेवा यान्त्रिक पुल विसं २०६८ मा करीब रु चार करोडको लागतमा बनाइएको हो । एक डब्बामा एक पटकमा आठ गरी दुईमा १६ मानिस आवातजावत गर्दै आएका छन् । 

महीना दिनभित्रै तल्लो मोदीको विद्युत् उत्पादन 

तोकिएको समयभन्दा करीब तीन वर्षपछि २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले उत्पादन गर्ने भएको छ । मोदीखोलामा निर्माणाधीन मोदीखोला जलविद्युत् आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम अन्तिम चरणमा पुगेपछि आगामी महीना परीक्षण उत्पादन शुरु गर्ने जनाएको छ । 

विसं २०६९ साउनमा निर्माण शुरु भएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । निर्धारित समयमा नसकिएपछि सोही फागुनमा सक्ने लक्ष्य सार्वजनिक गरेको आयोजनाले प्राकृतिक, मानवीयलगायतका विभिन्न कारण देखाउँदै यसअघि धेरै पटक उत्पादन मिति सारेको थियो । 

अघिल्लो असार मसान्तभित्र उत्पादन दिने दाबी गरेको भए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको भन्दै आयोजना प्रमुख पवनकुमार यादवले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!