सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

Posted on: 23 Sep, 2020

असोज ७, पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । 

मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै उहाँले वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिनुभयो । 

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटेका सवारी साधनहरु रातिदेखिनै मालढुङ्गामा अलपत्र बनेका छन् । अघिल्लो साताको आइतबारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!