सडकले जोडियो नेपाल र भारतको सिक्किम

Posted on: 17 Feb, 2021

फागुन ५, पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । 

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवतजावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो । 

सोहीअनुसार सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडिएको हो । सिक्किम (भारत)ले करीब दुई हप्ताअघि सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो । सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधिहरू तथा निर्माण व्यवसायीहरूले चिवाञ्ज्याङ क्षेत्रको अवलोकनसमेत गरेका थिए । 

नेपालले २०७० सालमा चिवाभञ्ज्याङसम्म सडकको ट्र्याक विस्तार गरेको थियो । भारततर्फ पश्चिम सिक्किमको उत्तरे बजारसम्म वर्षौंअघि सडक आइपुगेको थियो । सिक्किमले सन् २०१९ मै चिवाभञ्ज्याङसम्म सडक विस्तार गर्ने चर्चा चले पनि निर्माणले गति लिन सकेको थिएन । भौगोलिक कठिनाइका कारण उत्तरेबाट सीमा क्षेत्रसम्म सडक विस्तार कार्यमा ढिलाइ हुँदै आएको थियो । 

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेको सरकारले सीमासम्म सडक विस्तार गर्ने तथा उत्तरे बजारलाई व्यापारिकरूपमा विकास कार्यलाई प्राथमिकता राखेअनुसार पछिल्लो पटक निकै द्रूत गतिमा सडक निर्माण भएको सीमा क्षेत्रका नेपालीको भनाइ छ । 

विगतमा चिवाभञ्ज्याङबाट करीब चार घण्टा पैदल यात्रापछि उत्तरे पुग्न सकिन्थ्यो । सडक विस्तारपछि करीब डेढ घण्टामा चिवाभञ्ज्याङ–उत्तरे यात्रा हुनसक्ने सिक्किमको ‘सिक्किम न्यूज’ ले जनाएको छ । उत्तरे बजारबाट सोकपाखा, जरिबुटे, भालुवाले हुँदै सडकको ट्र्याक सीमासम्म विस्तार गरिएको हो । पछिल्ला केही वर्षमा निकै दुर्गम भूगोलमा करीब २५ किलोमिटर नयाँ ट्र्याक खोलिएको हो । 

नेपालले चिवाभञ्ज्याङसम्म सडक पु¥याएपछि पनि भारततर्फ सडक विस्तार नहुँदा सीमा क्षेत्रका नेपाली चिन्तित थिए । तर सीमासम्म भारतले सडक ल्याएपछि उनीहरु खुशी देखिन्छन् । अब चिवाभञ्ज्याङमा व्यापारिक नाका खोलिनुपर्ने तथा व्यापारिक सम्बन्ध स्थापित हुनुपर्ने उनीहरूको माग छ । “उत्तरेको विकास गर्ने भनेर सिक्किम सरकार लागिपरेको सुनेका छौँ”, याङवरक–२ का स्थानीयवासी सन्त बेघाले भन्नुभयो, “एकापट्टि मात्रै काम गरेर पुग्दैन । दुवैतर्फ व्यवस्थित सडक निर्माण र व्यापारिक नाका स्थापना हुनुपर्छ ।” 

पदयात्रा सहयोगी एवं गोठ सञ्चालक डिकबहादुर राई पनि नाका खोलिनुपर्ने, आवत–जावत र व्यापार सहज हुर्नेमा जोड दिनुहुन्छ । “सीमित भए पनि सीमा क्षेत्रका हामी अधिकांश सामग्री सिक्किमबाट खरीद गर्छौं”, राईले भन्नुभयो, “नाका खोलियो भने नागरिकलाई सुविधा त हुन्छ नै सरकारलाई समेत फाइदा मिल्छ ।” अहिले भारतबाट खरीद गरिने सामग्री यहाँसम्म ल्याइपु¥याउन ढुवानीमा धेरै खर्च हुने गरेको छ । सिक्किमबाट खरीद गर्न सके छोटो दूरी हुने हुँदा सामग्री कम मूल्यमा नेपाली उपभोक्ताले प्राप्त गर्न सक्दछन् । 

यस्तै सीमा क्षेत्रका पर्यटकीयस्थलहरू भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको छ । सडकको सुविधा नहुँदा पर्यटकको सङ्ख्या कम हुने गरेको पदयात्रा सहयोगी राईको भनाइ छ । अहिले पनि भारततर्फ सडकको ट्र्याक मात्रै खोलिएको छ । सवारी सञ्चालनका लागि सडक कठिन भएकाले घुम्न आउनेको सङ्ख्या वृद्धि हुन सकेको छैन । व्यापारिक नाका स्थापित हुनसके भारततर्फ समेत पूर्वाधार निर्माणले गति लिने भएकाले यसका लागि कूटनीतिक पहल गरिनुपर्ने स्थानीयवासीको माग छ । नेपालतर्फ भने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड ५१ किलोमिटरको कालोपत्रको ठेक्का लागिसकेको छ । 

दुवै देशका सीमा क्षेत्रका स्थानीयवासीबीच बिहेवारी हुने गरेको छ । विगतमा गोठबाट गाँसिएको साइनो पारिवारिक सम्बन्ध हुँदै दुई देशबीचको मैत्री सम्बन्धमा परिणत हुने गरेको छ । यसकारण चिवाभञ्ज्याङ नाका हुँदै आवतजावत गर्नेको सङ्ख्यासमेत उल्लेख्य हुन्छ । पारिवारिक सम्बन्ध भए पनि यातायातको सुविधा नहुँदा कैयौँ सर्वसाधारणले आफन्त भेट्न पाएका थिएनन् । दुवै देशतर्फ सडकको स्तरोन्नति हुनसके दैनिक आवागमन अझै बढ्ने स्थानीयवासी बताउँछन् । सिक्किमको नेपालको पाँचथर र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!