बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता

Posted on: 16 Nov, 2020

मङ्सिर १, रामपुर । रामपुर नगरपालिका—८ पिपलचौरकी ७६ वर्षीय तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ । साहाराबिहिन उहाँ अहिले छिमेकीको घरमा साहारा लिनुभएको छ । गाँस र बाँसबाट पिडित उहाँलाई नेपाली नागरिकता नहँुदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ । तीन सन्तानमध्ये दुई छोरा र एक छोरी रहेपनि अहिले उहाँ सहाराबिहीन हुनुहुन्छ । 

दुई छोरा लामो समयसम्म बेपत्ता भएपछि जेठो छोरा करिब २२ वर्ष पछाडि मात्रै घर फर्केका छन् । छोरीको बिहेदान भइसकेको छ । उहाँलाई बुढेसकालमा रेखदेख गर्ने सन्तान भने कोही छैनन् । जेठो श्रीमान् कुलप्रसाद पाण्डेयसँग १६ वर्षको उमेरमा विवाह गर्नुभएकी तुलसा श्रीमान्को मृत्यु भएपछि सहाराका लागि गाउँकै रमाकान्त पङ्गेनीसँग दोस्रो विवाह गर्नुभएको थियो । पङ्गेनीको पनि विवाह भएको केही वर्षपछि मृत्यु भएपछि अहिले उहाँ एक्लो जीवन बिताइरहनुभएको छ ।

 पहिलो श्रीमान् कुलप्रसाद पाण्डेयबाट बनाइएको नेपाली नागरिकता हराएकी तुलसाले दोस्रो श्रीमान्को परिवारबाट नागरिकताका लागि सनाखत नगरिदिंदा  पाउने सेवा सुविधाबाट वन्चित हुनु परेको छ । “पहिलो श्रीमान्ले बनाएको नागरिकता हरायो, दोस्रो श्रीमान्का दाजुभाई पक्षलाई नागरिकता बनाइदिनका लागि सनाखत गरिदिन अनुरोध गरेपनि वास्तै गरेनन्,” उहाँले दुखेसो पोख्नुभयो, “कमसेकम नागरिकता भए सरकारले दिएको भत्ता खाएर त बाँच्थे”।

दोस्रो श्रीमान्को मृत्युपश्चात उहाँ पुनः पहिलो श्रीमानकै घर संरक्षण गरेर बस्नुभएको थियो । लामो समयसम्म बेपत्ता जेठो छोरा घर फर्केर आएपछि उहाँलाई आफैँले जन्माएको छोराले घर निकाला गरिदिएपछि छिमेकीको घरमा कोठा भाडामा बस्नुहुन्छ ।       छिमेकीले दोस्रो श्रीमान् पक्षधरबाट नागरिकता बनाउन सहमति नभएपछि पहिलो श्रीमानबाट जन्मिएका छोरालाई आमाको नागरिकता बनाउन अनुरोध गरेपनि नमानेपछि बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता भएको स्थानीय नेत्रप्रसाद पौडेल बताउनुहुन्छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका—२ जल्पा माइती घर बताउने तुलसाले स्याङ्गजा आँधीखोलाका स्वर्गीय कुलप्रसाद पाण्डेयसँग वैवाहिक सम्बन्ध गाँस्नुभएको हो । बसाई सरी रामपुरलाई कर्मथलो बनाउनुभएकी तुलसालाई रामपुर नगरपालिका—८ को कार्यालयले नागरिकता दिलाउन माइतीतर्फबाट जन्मदर्ता समेत झिकाएको छ । 

 दोस्रो श्रीमान् पक्षकाले सनाखत नगर्नु, पहिलो श्रीमान्बाट आफैँले जन्म दिएको छोराले पनि आमालाई नागरिकता बनाउन सहयोग नगरेका कारणले समस्या बल्झिन पुगेको हो । तुलसाले २०५६ सालमा भएको निर्वाचनमा दोस्रो श्रीमान् रमाकान्त पङ्गेनी पति कायम गरी निर्वाचनमा सहभागी भई मतदान गरेको उहाँका छिमेकी तथा समाजसेवी मुक्तिराम अर्यालले बताउनुभयो । 

नेपाली नागरिकता बनाउने कुरामा वडा कार्यालय गम्भीर रहेपनि नजिकका आफन्तले सनाखत नगरेको र यस समस्यालाई समाधान गर्ने कोशिसमा रहेको वडा सदस्य मोहन श्रेष्ठ बताउनुहुन्छ । नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भक्ता पनि नपाउँदा के खाने, लाउने, कहाँ बस्ने अवस्था छ । छिमेकीको घरमा कोठा भाडा लिएर बसेको पनि एकवर्ष बित्यो । भाडा तिर्न नसक्दा छिमेकीले कोठा खाली गर्न अनुरोध गरिरहेको उहाँको गुनासो छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!