कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसायमा

Posted on: 31 Jan, 2019

माघ १७, बेझाड । बगनासकाली गाउँपालिका– ९ का ओमबहादुर सारुले कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसाय सञ्चालन गर्नुभएको छ । 

तीन वर्षको कोरियाको अनुभवले उहाँलाई गाउँमै बङ्गुरपालन व्यवसाय गर्ने जोस जाँगर मिलेको छ । “कोरियामा गरेको दैनिक १२÷१५ घण्टाको दुःख यही दिनमा एक÷दुई घण्टा गरियो भने लाखौँ कमाउन सकिँदोरहेछ”, उहाँले भन्नुभयो । कम लगानीमा थोरै मेहनत गरे पनि लाखौँ यही कमाउन सकिने उहाँ बताउनुहुन्छ । 

गाउँमा खेर गएको खोरिया बारीमा उहाँले बङ्गुर फार्म सञ्चालन गर्नुभएको छ । उहाँको फार्ममा हाल १६ वटा माउ बङ्गुर छ । बङ्गुरको पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने उहाँ बताउनुहुन्छ । 

“बिक्रीका लागि अत्यन्त सहज छ, मासुभन्दा पाठापाठी बिक्रीबाट छोटो समयमा धेरै फाइदा लिन सकिन्छ, घरबाटै पाठापाठी धमाधम बिक्री भइरहेको छ”, सारुले भन्नुभयो । 

हाल बङ्गुरको पाठा चार हजार र पाठी तीन हजार ५०० मा बिक्री हुने गर्छ । खर्च कटाएर एक वर्षमा रु चार लाख आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । कोरियाबाट फर्केलगत्तै १५ वर्षअघिदेखि बङ्गुरपालन व्यवसाय सञ्चालन गर्नुभएका सारुले यसलाई दीर्घकालिन समयसम्म निरन्तरता दिने बताउनुहुन्छ । मेहनत र परिश्रम गरियो भने पैसा कमाउनकै निम्ति अरब र कोरिया धाउनु पर्दैन । 

वैदेशिक रोजगारीका लागि खर्चने रकममध्येको केही रकम लगानी गरेर कृषि तथा पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!