रामपुरे किसान उन्नत जाततर्फ आकर्षित

Posted on: 16 Feb, 2019

फागुन ४, वेझाड | पाल्पा रामपुरका किसान बढी उत्पादन दिने उन्नत जातका बीउविजन र आधुनिक प्रविधि अपनाएर व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । परम्परागत बीउविजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकोले किसानहरू कृषि कार्यालयबाट सिफारिश गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका हुन् । 

रामपुरकी अगुवा किसान सीता देवकोटा किसानलाई व्यावसायिक बन्नका लागि स्थानीय जातका तरकारी, अन्नबाली लगाएर आजको बजारमा प्रतिस्पर्धा गर्न कठिन भएकाले स्थानीय जातको साटो उन्नत बीउविजन र प्रविधितर्फ लाग्नुपरेको बताउनुहुन्छ । 

“मैले स्थानीय र उन्नत दुवै जातका तरकारी खेतीको अनुभव गरेकीे छु, व्यावसायिक हुनका लागि उन्नत जात नै रोज्नुपर्ने बाध्यता छ” उहाँ भन्नुुहुन्छ, “किसानको मेहनत र लगानीका तुलनामा स्थानीय जातको बीउबाट राम्रो उत्पादन लिन कठिन पर्छ ।” 

रामपुर–७ मलेङ्गकीे गीता भट्टराई पनि उन्नत जातकै तरकारी खेतीतर्फ आकर्षित हुनुभएको छ । उहाँको अनुभवमा उन्नत जातका तरकारी लगाएपछि छोटो समयमा धेरै उत्पादन लिन सकिएको र कृषिमै आत्मनिर्भर बन्नका लागि उन्नत जातका तरकारी नै लगाउनुपर्ने हुन्छ । 

“ स्थानीय उत्पादन त घरको गर्जो टार्नकै लागि मात्र सिमित हुनुपर्ने अवस्था छ,” भट्टराई भन्नुहुन्छ । 

रामपुर–६ प्याक्लुककीे उमा भट्टराईले उन्नत जातका तरकारी बाली लगाउन शुरु गरेपछि प्रशस्त आम्दानी हुन थालेको छ । विगतमा स्थानीय जातका बीउ लगाउँदा घरमा खानकै लागि मात्र ठिक्क हुने गरेकामा अहिले उन्नत जातका बिउ लगाउन थालेपछि तरकारी खेतीबाट आम्दानी गरेर आत्मनिर्भर भएको उहाँको भनाइ छ । 

भटृराईले पाँच रोपनी जमीनमा मौसमी तथा बेमौसमी तरकारी लगाउँदै आउनुभएको छ । “स्थानीय जातको तरकारी उत्पादन कम, उन्नत जातको तुलनामा महङ्गो पर्ने, ग्राहकले सस्तो तथा उन्नत जातकै तरकारी बढी मन पराउने गर्छन्” उहाँ भन्नुुहुन्छ । 

स्थानीय भगवती देवकोटाले उन्नत जातको धान लगाएर वर्षमा झण्डै एक लाख बराबरको धान बिक्री गर्दै आउनुभएको छ । “उन्नत जातका धान लगाउन थालेपछि स्थानीयको तुलनामा दोब्बर उत्पादन भएको छ र आम्दानी पनि सोही अनुपातमा बढ्दै गएको छ” उहाँ भन्नुुहुन्छ । 

कृषि ज्ञानकेन्द्रका अर्थविज्ञ ज्ञानकुमार यादवले थोरै जग्गामा तरकारी, अन्नबाली, फलफुल खेती गरेर प्रशस्त आम्दानी लिन पाइने भएकाले अचेल पाल्पामा उन्नत जातका उत्पादनतर्फ किसानको आकर्षण बढेको बताउनुहुन्छ । किसानले ज्ञानकेन्द्रको सिफारिशमा उन्नत जातका बीऊबीजन प्रयोग गर्दै आइरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!