पाल्पाका किसानलाई बजारको समस्या

Posted on: 21 Feb, 2018

फागुन ९, पाल्पा | तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् । 

स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्नुहुन्छ । बिक्रीका लागि उहाँले अहिलेसम्म बजार पाउनुभएको छैन । भण्डारीले वर्षेनी करिब तीन रोपनी जमिनमा तरकारी लगाउनुहुन्छ । 

“बजार नहुदा बिक्री गर्न समस्या भएको छ, तरकारी पर्याप्त मात्रामा उत्पादन भएपनि बिक्री गर्ने ठाउँ छैन,” उहाँले भन्नुभयो । 

कृषक हरिप्रसाद अधिकारीको व्यवसाय पनि तरकारी खेती नै हो । तरकारी बिक्री गर्ने ठाउँ नहुँदा उहाँलाई रातदिन पिरोलेको छ । “गाउँमा जमिन र पानी प्रशस्त छ, तरकारी बिक्री गर्न बजार छैन, तरकारी कुहाएरै फ्याँक्नु परेको छ,” उहाँले भन्नुभयो । 

यहाँको मुख्य बजार रामपुरको बेझाड र स्याङ्जाको गल्याङ हो । त्यहाँ तरकारी पर्याप्त मात्रामा बिक्री हुँदैन । त्यसैले कृषकले हैरानी खेप्दै आएका छन् । यहाँ बुटवलबाट दिनहुँ सस्तो मूल्यमा तरकारी भित्रने गरेकाले स्थानीय उत्पादनले बजार पाउन सकेको छैन । कृषक र उपभोक्ता मारमा परेका छन् । 

मेहनत र परिश्रमअनुसारको बजार भाउ नपाउँदा कृषकले घाटा बेहोर्नु परेको छ । उत्पादित तरकारी बजारमा बिक्री गर्न नपाउँदा घरमै तरकारी कुहेर जान थालेपछि अहिले यहाँका कृषकले उत्पादन घटाउन थालेको तुल्सीप्रसाद भण्डारी बताउनुहुन्छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!