देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

Posted on: 07 Jul, 2020

असार २३, काठमाडौं । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । त्यसैगरी असार २७ देखि २९ गतेसम्म विभिन्न नदीमा उच्च बहावको सम्भावना छ । नारायणी, कन्काई, कोसी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना औँल्याइएको छ ।

प्रदेश १ र २ तथा चुरे एवम् तराईका सबै नदीको बहावले सतर्कता तह पार गरी केही नदीमा खतराको तह आसपास पुग्ने सम्भावना रहेकाले सम्भावित उच्च जोखिम सामना गर्न पूर्वतयारीलाई प्राथमिकता दिन विभागले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बाग्मती, तिनाउ, पश्चिम राप्ती बबई र केही साना नदीमा बहाव बढ्ने क्रममा छ । तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, काठमाडौँ, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत र म्याग्दीका नदीको बहाव बढ्ने क्रममा छ ।

त्यस्तै, चितवन, नवलपरासी, रुपन्देही, कपिलस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा र आसपासका जिल्लाका नदीमा बहाव बढ्ने खतरा रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!