नुवाकोटबाट ५ वर्षमा १०२ जना बेपत्ता

Posted on: 05 Jan, 2020

पुष २०, नुवाकोट | नुवाकोटमा पाँच वर्षयता एक सय दुईजना बेपत्ता भएका छन् । त्यसमध्ये महिला ५१, पुरुष ४६ र बालिका पाँच जना रहेका छन् । उक्त अवधिमा पाँच सय ७३ जना हराएका थिए । त्यसमध्ये चार सय ७१ जना फेला परे ।

प्रहरीको तथ्यांक अनुसार ०७५/७६ मा बालबालिका बढी हराएका छन् । यो वर्ष १३ बालक र ३६ बालिका हराए । वार्षिक रूपमा नौदेखि ३६ जना बालबालिका हराउने गरेको प्रहरीको भनाइ छ । हराएका अधिकांश बालक गाडीमा खलासी काम गर्ने र केही होटलका काम गर्ने गरेका छन् । हराएका कतिपय पुरुष नदीमा डुबेको अवस्थामा पनि फेला पर्ने गरेको मुद्दा फाटका प्रहरी निरीक्षक बलराम श्रेष्ठले बताए ।

हराएपछि कतिपय अवस्थामा परिवारले चासो कम दिन थालेको पाइएको प्रहरीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका, तनावका रहेकाहरू हराउने गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अविनारायण काफ्लेले बताए । ‘परिवारमा सुमधुर सम्बन्ध रहेमा हराउदैनन्,’ उनले भने, ‘मान्छेलाई आर्थिक अभाव र सामाजिक सञ्जालले तनाव बढाएकाले पनि घर छाडेर हिड्छन् ।’

- आजको कान्तिपुर दैनिकमा समाचार छ  

यस बिषयमा तपाइको प्रतिक्रिया...!