उत्तर कोरियाका राजदूतद्वारा नुवाकोटमा कृषि क्षेत्रको अवलोकन

Posted on: 21 Dec, 2019

पुष ५, नुवाकोट | नेपालको लागि उत्तरकोरियाका राजदूत जो योङ मेनले नुवाकोटको विभिन्न स्थानका भ्रमण अवलोकन गर्दै यहाँको कृषिखेती एवं माछापालनसम्बन्धी जानकारी लिनुभएको छ । 

बिहीबार र शुक्रबार नुवाकोटको कृषि क्षेत्रअन्तर्गत माछापालन, कफी र तरकारी खेतीसम्बन्धी जानकारी लिने क्रममा राजदूत मेनले मस्य अनुसन्धान केन्द्र त्रिशूलीको सञ्चालन तथा त्यहाँबाट प्रवाह हुँदै आएको सेवाको जानकारी लिँदै नेपाल र उत्तरकोरियाबीच माछापालनको अनुभवलाई एक अर्कामा आदानप्रदान गर्न सकिए उत्पादन वृद्धि र लागत कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । “नेपालमा सफलरुपमा उत्पादन भइरहेको र धेरैको रुचिमा पर्ने ट्राउट माछा उत्तरकोरिया सञ्चालन गर्न इच्छा लागेको छ ।” उहाँले भन्नुभयो, “आवश्यक तयारी तथा उत्पादनदेखि बजारीकरणसम्मको अवस्थाको जानकारी लिँदा दुई देशबीच कूटनीतिक पहलमार्फत कृषि क्षेत्रमा साझेदारी कार्यक्रम चलाउन आवश्यक लागेको छ ।” 

मस्य अनुसन्धान केन्द्रका प्रमुख ईश्वरीसिंह महतोसहित कार्यालयका प्राविधिकसँग करिब चारघण्टा भएको छलफल र माछापालनको लागि स्थलगत अनुगमनपश्चात् उत्तरकोरियामा उत्पादन हुने माछा र तरकारीखेतीलाई नेपाल भित्र्याउन र यहाँको माछा र तरकारी खेती प्रणालीलाई लैजान आफूले पहल अघि बढाउन चाहेको उहाँको भनाइ छ । 

पछिल्लो समयमा उत्तरकोरियाबाट नेपालमाथि हुँदै आएको सहयोग कार्यक्रम तथा लगानी कमजोर हुँदै गइरहेको अवस्थामा राजदूत मेनले नुवाकोटको मत्स्य अनुसन्धान केन्द्रपश्चात् बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाको विभिन्न स्थानका किसानको ट्राउट माछापालन र कफीखेतीको अवलोकनपश्चात् दुई राष्ट्रबीच कफी र माछापालन कार्यक्रम सञ्चालनको योजना चलाउन तयारी अघि बढाउने जानकारी दिनुभयो ।

उहाँले मस्य अनुसन्धान केन्द्र र यहाँका किसानले पालन गर्दै आएको ट्राउट, टिलापिया, कमनकार्पलगायत जातका माछा र कफीखेती सञ्चालन गर्न दुई देशबीच समझदारी भएमा यान्त्रीकरणको प्रयोग, कम लागतमा बढी उत्पादन, बिक्रीको लागी विश्व बजार पुर्याएर परम्परागत खेतीलाई व्यावसायिकतर्फ उन्मुख गराउन सकिने प्रतिक्रिया दिनुभयो ।

“दुई देशबीच कृषिअन्तर्गत तरकारी, कफी र माछापालन सञ्चालनमा साझेदारी कार्यक्रम चलाउन भ्रमण निकै उपलब्धि रह्यो ।” उहाँले भन्नुभयो “हामी आत्मनिर्भर कसरी बन्ने भन्नेमा चिन्तित छौँ, यसमा नेपाल पनि हुनुपर्ने देखिन्छ । त्यसका लागि दुई देशबीच सहकार्य आवश्यक छ ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!