काठमाडौँ–तराई द्रुत मार्ग : सुरुङ र पुलको बोलपत्र आह्वान

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ | काठमाडौँ–तराई द्रुत मार्गको सुरुङ मार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि प्रक्रिया सुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

द्रुत मार्ग आयोजनाको प्रमुख संरचनाका रूपमा रहेका सुरुङ मार्गहरूको निर्माण अबको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता पौडेलले स्पष्ट पारे । उनका अनुसार द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाइब्रिज निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरिएको छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेवडाँडा खण्ड हो ।

यस खण्डमा निर्माण गरिने सुरुङ मार्ग र हाइब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर रहेको छ । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङमार्ग तथा हाइब्रिज निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । यस प्याकेजअन्तर्गत कुल १.४०० किलोमिटर सुरुङमार्ग र हाइब्रिज निर्माण गरिने छ ।

यसअघि सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको ‘प्रिक्वालिफिकेसन’का क्रममा ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएका थिए, जसमध्ये तीनवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत थिए ।

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!