नेपालमा कोरोनाका ९९ प्रतिशत संक्रमित लक्षणविहीन

Posted on: 10 Jul, 2020

असार २६, काठमाडौँ | नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । संक्रमितमध्ये १६ हजार ३५ जना विदेशबाट आएका छन् ।

यसरी हेर्दा हाल आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८ हजार ५ सय १६ जना लक्षणविहीन रहेका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, 'समुदायमा संक्रमण अझै फैलिएको छैन । संक्रमितमध्ये ८७ प्रतिशत पुरुष १५ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । तीन प्रतिशत संक्रमित विदेशबाट नआई घरमै रहेका छन् ।' 

पिसिआर टेस्ट नै नगरी विदेशबाट रेस्क्यु फ्लाईटमार्फत सिधै आएका केही व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएकामध्ये ३५ प्रतिशतले मात्रै पिसिआर टेस्ट गरेको पाइएको छ । यसरी हेर्दा ५ हजार ६ सय १२ जनाले मात्रै पिसिआर परीक्षण गरेर नेपाल भित्रिएको देखिन्छ ।

भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्ला संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले संक्रमण समुदायमा नफैलिएको बताएको छ ।

- प्रशान्त वलीले आजको राजधानीमा यो समाचार लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!