वैदेशिक रोजगारीमा जाने नेपालीको आयु आधा मात्रै

Posted on: 23 Jun, 2020

असार ९, काठमाडौं । नेपालीको औसत आयु ७०.५ वर्ष छ । तर, वैदेशिक रोजगारीमा जाने नेपाली औसत त्यसको आधा उमेरमा बित्छन् । यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन् । बर्सेनि ठूलो मात्रामा हुने मृत्यु पनि यही समूहको हो । पछिल्लो एक दशकमा करिब ९ हजार नेपाली कामदारले विदेशमा ज्यान गुमाएको बोर्डले जनाएको छ । उसले श्रम स्वीकृति नलिई विदेश जाने र अन्य भिसामा गएकाको तथ्यांक राख्दैन ।

सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गर्यो । तर, स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा नेपालबाट बर्सेनि ४ लाख ५० हजार कामदार विदेश जान बाध्य छन् । तीमध्ये दैनिक तीन जनाको पार्थिव–शरीर बाकसमा आउने गरेको छ ।


श्रमविज्ञ डा. गणेशमान गुरुङका अनुसार वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक तथ्य पहिचान हुन सकेको छैन । शव पोस्टमार्टम नगरी पठाइने गरेकाले मृत्युको कारण खुल्न नसकेको हो । स्वदेश ल्याएपछि पनि सरकारले पोस्टमार्टम नगरी आफन्तलाई पार्थिव–शरीर बुझाउने गरेको छ । श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्न सके मात्रै पनि मृत्युको तथ्य पत्ता लाग्ने श्रमविज्ञ गुरुङको भनाइ रहेको छ । 

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!