लकडाउनको अवधिमा मात्रै ४० अर्बको आयात

Posted on: 08 May, 2020

वैशाख २६, काठमाडौं | नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । 

उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपियाँ बराबरको अति आवश्यकीय वस्तु नेपाल भित्रिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा लकडाउनमा अति आवश्यकीय वस्तु भारतबाट मात्रै नभएर चीनबाट समेत भित्र्याएको छ । यस अवधिमा नेपाल भित्रिएको अति आवश्यकीय वस्तुमध्ये चीनको तातोपानी नाकाबाट चार करोड ६२ लाख ४७ हजार रुपियाँ बराबरका र अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ११ करोड ४४ लाख ३९ हजार रुपियाँ बराबरको औषधिको कच्चा पदार्थ र तयारी औषधि भित्रिएको छ । 

बाँकी सबै भारतबाट भित्रिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अवधिमा खाद्यान्न, दलहन, गेडागुडी, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, औषधिको कच्चा पदार्थ, तयारी औषधि, एलपी ग्यास, पेट्रोल, डिजेललगायतका सामान भित्रिएका छन् । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!