५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ

Posted on: 22 Mar, 2020

चैत ९, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना आउने गरेको छ । तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

प्रयोगशालाले ‘नेजल स्वाब’ र ‘थ्रोट स्वाब’ को नमुनाबाट परिक्षण गर्दै आएको छ । हाल २५ जनाको कोरोना परीक्षण भइरहेको छ ।

चीनबाट आएका एक नेपालीलाई दुई महिना अघि कोरोना पोजेटिभ देखिएको थियो । उनको रिपोर्ट हङकङ पठाइएको थियो । पुनः कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि हालसम्म कुनै पनि नेपालीलाई कोरोना पोजेटिभ नभएको प्रयोगशालाले जनाएको छ । 

- यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!