नवलपरासीका लोकगायक बुढाथोकीको निधन

Posted on: 15 Apr, 2019

वैशाख २, परासी । वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । 

केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । 

जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहनुभएका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उहाँकै निवास बर्दघाट–२ चिसापानीमा आज श्रद्धाञ्जलिका लागि राखिने उहाँका ज्वाइँ शेरबहादुर आचार्यले बताउनुभयो । दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने र त्रिवेणीघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

बुढाथोकीका दुई श्रीमती, ६ छोरी र चार छोरा हुनुहुन्छ । 

नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक, कवि, लोकसाहित्यकार, व्याकरणकार एवं गीतकार बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पिता हुुनुुहुन्छ । नेपाली मौलिक कला र साहित्य क्षेत्रमा उहाँको विशिष्ट योगदान रहेको छ । उहाँका एक दर्जन बढी गीत तथा कविता प्रकाशित छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!