प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’

Posted on: 20 Feb, 2019

मोहन पौडेल । फागुन ८, परासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अगुवाइमा झण्डै चार महीनादेखि सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन् । 

प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको पाल्हीनन्दन–५ का प्रेम कौशल बताउनुहुन्छ । “हाम्रो जिल्लाको तराई क्षेत्रमा नागरिक जागरुक भएका छन्, कुनै घटना भएमा तत्काल प्रहरीलाई खबर गर्ने र समस्या समाधानमा अग्रसरता देखाउने गरेका छन्, प्रहरीले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ”, उहाँले भन्नुभयो । 

गत कात्तिक ११ गते ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी नेपाल प्रहरीले उक्त अभियान देशैभरि एकसाथ शुरु गरेको थियो । 

अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्ट बताउनुहुन्छ । 

“हामीले विद्यार्थीलाई लक्षित गरी सडक सुरक्षा, लागुऔषध दुव्र्यसनी, बालविवाह तथा बाल यौन दुव्र्यहारसम्बन्धी प्रशिक्षण विद्यालय सम्पर्क कार्यक्रममार्फत गरिरहेका छौँ, समुदायसँगको साझेदारीमा अस्पताल, धार्मिकस्थल, बजारलगायतको सरसफाइ अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो । 

पूर्व–पश्चिम राजमार्गमा दुर्घटना नियन्त्रण गर्न विशेषगरी लामो दूरीका सवारी चालकलाई प्रशिक्षण तथा स्वास्थ्य जाँचका कार्यक्रम सञ्चालन गरिएको एसपी भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कार्यक्रम सञ्चालनपछि नागरिक जागरुक भएर गाउँमा हुने घटनाको जानकारी दिन थाल्नुभएको छ । यसबाट अपराधिक क्रियाकलाप र सामाजिक विकृति अन्त्य गर्न सहयोग पुग्नेछ ।” 

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा लागुऔषध प्रयोग र ओसारपसार विकराल बनिरहेका बेला यस किसिमका सचेतनामूलक कायक्रम सञ्चालन गर्न थालेपछि अन्य विद्यालय तथा समुदायबाट आफ्नो क्षेत्रमा पनि कार्यक्रम गरिदिन भन्दै माग बढिरहेको उहाँको भनाइ छ । 

“समाजमा विशेषगरी घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको छ । यस्ता कार्यक्रममा सहभागी भएका नागरिकले समुदायमा त्यस किसिमका घटना हुने बित्तिकै हामीलाई जानकारी गराउने र उजुरी गर्न थाल्नुभएको छ, यसले गर्दा हामीलाई समाजमा अपराध रोक्न र अपराधी पहिचान गर्न पनि मद्दत पुगेको छ”, एसपी भट्टले भन्नुभयो । 

प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्लास्तरीय एउटा र सातवटै स्थानीय तह तथा विभिन्न वडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ । प्रहरीसँगको साझेदारी सम्झौताअनुसार आवश्यक सहयोग गर्दै आएको पाल्हीनन्दन गाउँपालिकका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताउनुभयो । 

“प्रहरीले यस किसिमका कार्यक्रमलाई बढवा र निरन्तरता दिनसके सुरक्षित र शान्त समाज निर्माणमा टेवा पुग्छ, सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा पनि सहयोग पुग्छ”, अध्यक्ष गुप्ताले भन्नुभयो । पश्चिम नवलपरासीमा समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम लागू भएपश्चात् जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायले जिल्लाभरि नै विभिन्न कार्यक्रम गरिरहेका छन् । जिल्लाका चार स्थानमा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ भने एउटा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ । 

किशोरीलाई यौनहिंसाबाट स्वयं जोगिन र सक्षम बनाउन यहाँ दुई वटा किशोरी आत्मरक्षा तालीम सञ्चालन भएको छ । अस्पताल, धार्मिकस्थल तथा विभिन्न बजारमा गरी १६ स्थानमा समुदायसँग मिलेर सरसफाइ कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी शाखाले जनाएको छ । शाखाका अनुसार दुर्घटना नियन्त्रण गर्न छ वटा सडक सुरक्षा कायक्रम भएको छ भने स्वास्थ्यसम्बन्धी एकीकृत घुम्ती शिविर पनि गरिएको छ । 

प्रहरीले दिने सेवाबारे नागरिकका गुनासा र सुझाव लिन चारवटा सार्वजनिक सुनुवाइ कार्यक्रम पनि गरिएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । विद्यार्थीलाई लक्षित गरी लागुऔषध, सडक सुरक्षा, साइबर अपराधको विषयमा २७ स्थानमा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरी सचेतना जगाइएको छ । 

आठ वटा विद्यालय सम्पर्क समिति गठन भएका छन् भने आधारभूत सुरक्षासम्बन्धी विद्यालय सम्पर्क कार्यक्रम पनि दुई वटा सम्पन्न भएका छन् । प्रहरीका गतिविधिको बारेमा विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयको भ्रमण गराई जानकारी गराइएको छ । 

समुदायलाई लक्षित बालविवाह, दाइजो, बोक्सी प्रथाजस्ता सामाजिक अपराधसम्बन्धी घटना रोक्न दुई स्थानमा सचेतना कार्यक्रम गरिएको छ भने सवारी दुर्घटना न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय सुनवलको अगुवाइमा एक हप्तासम्म सचेतनामूलक कार्यक्रम गरिएका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिनुभयो । यो अभियान सञ्चालन गरेपछि प्रहरीले २५ फरार अपराधी पक्राउ गर्न सफल भएको छ । प्रहरीले विगतमा सञ्चालन गरेका प्रहरी मेरो साथीलगायतका अभियानभन्दा यो अभियान प्रभावकारी रहेको सर्वसाधारणको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!