नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट फलाम उत्खनन् यही बर्ष देखि

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौँ | सरकारले ठूलो सम्भावना बोकेको नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट फलाम उत्खनन् गर्ने भएको छ । 

सङ्घीय संसदको संयुक्त बैठकमा आज आगामी आव २०७६/०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने बताउनुभयो । 

त्यस्तै सम्भाव्य स्थानमा पेट्रोलियम, बहुमूल्य पत्थर, फलाम, कोइला, तामा, युरेनियम तथा सुन खानी उत्खनन् अध्ययन सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । सुर्खेतमा बहुमूल्य पत्थरको प्रशोधन कारखाना स्थापना गरिने सरकारको घोषणा रहेको छ । सरकारले सार्वजनिक निजी क्षेत्र साझेदारीमा खानी उद्योगहरुलाई अगाडि बढाइने नीति लिएको छ । 

साना तथा घरेलु उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन निकासी गृहको स्थापना गरी सहकारीबाट भएका उत्पादनलाई पनि आवद्ध गरिने सरकारको घोषणा छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली गलैँचा, पश्मिना, चिया, कफी तथा हस्तकलाका सामानको पहिचान स्थापित गर्न अन्तर्राष्ट्रिय मान्यताको गुणस्तर प्रमाणीकरण, लेबलिङ र ट्रेडमार्कमार्फत ‘ब्रान्डिङ’ गरिने बजेटमा उल्लेख गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!