अन्नपूर्ण गाउँपालिकाको कार्यालय एक हप्ताका लागि बन्द

Posted on: 18 Nov, 2020

मङ्सिर ३, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराउनुभएको छ । कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परीक्षणका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभएको छ । कात्तिक २५ गते १५ जनाको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएकामा एक जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताउनुभयो । होम आइसोलेसनमा रहेका कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ । 

सङ्क्रमण फैलिन नदिनका लागि सेवा बन्द गरेर कन्ट्याक्ट टे«सिङ गर्न लागिएको हो । अन्नपूर्ण गाउँपालिकामा पहिलोपटक समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । यसअघि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पालिकामा रहेका बैंक, सहकारी र वित्तीय संस्थाको सेवा बन्द गराएको थियो ।

यसअघि कोरोनाको जोखिमका कारण बन्द भएका बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकाको सेवा भने सञ्चालन भएको छ । हालसम्म १२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको म्याग्दीमा ३० सक्रिय सङ्क्रमित छन् । सबै सङ्क्रमित होम आइसोलेसनमा छन् । पछिल्लो समय म्याग्दीमा पनि लक्षणसहितका कोरोना सङ्क्रमित भेटिन थालेका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!