बिना धितो ऋण सुविधाले उद्यम विकासमा सहयोग

Posted on: 29 Jan, 2019

माघ १५, म्याग्दी | दुई/चार हजार रुपैयाँ आवश्यक पर्दा श्रीमान् र आफन्तको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएकोमा जलजला गाउँपालिका–३ मल्लाजकी लक्ष्मी विश्वकर्मा दङ्ग पर्नुभएको छ । आफ्नो स्वामित्वमा धितो राख्ने घर, जग्गा नहुँदा बैंक तथा वित्तीय सेवाबाट वञ्चित विश्वकर्माले स्थानीय महिला सहकारीले उपलब्ध गराएको बिना धितोको ऋणबाट व्यवसाय गरेर आयआर्जन गर्न थाल्नुभएको हो । 

रु ५० हजार ऋण लिएर तीन वर्षअघि बाख्रापालन शुरु गरेकी विश्वकर्मा अहिले घर व्यवहार र छोराछोरीको पढाइ खर्च पु¥याएर बचत गर्न थालेको बताउनुहुन्छ । एकतीस महिला मिलेर रु २० का दरले बचत सङ्कलन गरेर २०६९ मा स्थापना भएको माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाले सामूहिक जमानीको आधारमा कर्जा उपलब्ध गराएपछि सजिलो भएको छ । 

जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा रहेका ३३ वटा समूहमार्फत ७०१ सदस्य सहकारीमा आबद्ध गराएर तरकारी खेती, बाख्रा, कुखुरा, गाईभैँसीपालन, पसल, व्यापारलगायतका कामका लागि रु एक करोड छ लाख २४ हजार ८६५ लगानी गरिएको अध्यक्ष शान्ता लामिछानेले बताउनुभयो । 

एक पटकमा रु ५० हजारसम्म लगानी गरिएको उहाँले जानकारी दिनुभयो । सहकारीमा आबद्ध भएपछि महिला र बालबालिकामा फजुल खर्च न्यूनीकरण र नियमित बचत गर्ने बानीको विकास भएको छ । 

यसैगरी मल्लाजमै रहेको साना किसान कृषि सहकारी संस्थाले पनि कृषकलाई बिना धितो जमानीका आधारमा सहुलियत ब्याजदरमा रु चार करोड २७ लाख लगानी गरेको अध्यक्ष हेमकुमारी अधिकारीले बताउनुभयो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट १२ प्रतिशत ब्याजदरमा ऋण लिएर माझफाँट, लेकफाँट र बाँसखर्कमा बिना धितो १५ देखि १६ प्रतिशत ब्याजदरमा लगानी गरिएको प्रबन्धक सनिता कार्कीले जानकारी दिनुभयो । 

पाँचसम्मको १०४ समूह बनाएर सामूहिक जमानीका आधारमा बिनाधितो एक जनालाई एक पटकमा रु एक लाखसम्म ऋण लगानी गरिएको सहकारीले जनाएको छ । प्रबन्धक कार्कीका अनुसार सरकारबाट थप अनुदान लिएर बाख्रा, कुखुरा, गाईभैँसीपालन, तरकारी र फलफूल खेतीमा लगानी बढाउने योजना रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!