मुस्ताङका कोरोनासँगै पहिरो पीडितलाई राहत

Posted on: 18 Jul, 2020

साउन ३, गण्डकी। मुस्ताङको लोमन्थाङस्थित पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड–१९ र प्राकृतिक विपत्तिमा परेकालाई राहत प्रदान गरेको छ । लोमन्थाङ गाउपालिका–३ मा स्थायीरुपमा सञ्चालन भई हिउँदको समयमा पोखरा महानगरपालिका–१८ खपौदीमा सञ्चालन हुँदै आएको गुम्बा स्कुलले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७० हजार र पोखरा महानगरले स्थापना गरेको कोषमा ५० हजार रुपैया प्रदान गरेको छ । 

प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा पोखरा महानगरपालिका ३२ लामे आहालस्थित राधाकृष्ण वृद्धाश्रम र पोखरा महानगरपालिका–२६ स्थित पैते डाडा पहिरो पीडितसमेतलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो । पोखरा २६ पैते डाडाका पहिरो पीडित करिव ५० घर परिवारलाई लक्षित गरी खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको पोखरा महानगरपालिका–२६ का वडाअध्यक्ष नारायण बरालले आभार व्यक्त गर्नुभयो ।

पाल ऐहाम नामग्याल गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो गुरुङले स्कुलका तर्फबाट कोरोना महामारी पीडितका साथै बाढी पहिरो पीडितलाई सहयोग गरिएको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आँफूहरूले राहत तथा सहयोग गरेको उल्लेख गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!