रोपाई गर्न गोलाप्रथा

Posted on: 30 Jun, 2020

दान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा धान दिवसको अवसर पारी देशभर किसानहरु धान रोप्नका लागी आफ्ना खेतहरुमा विहानैदेखि व्यस्त रहे । रोपाई गर्ने क्रममा मुगुको एउटा गाँउमा भने गोलाप्रथा गरिएको छ ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउका स्थानियहरुले गाँउ नजिक रहेको जिउलोमा कस्ले कुन दिन आफना खेतमा रोपाई गर्ने भनेर एकापसमा चिठ्ठा(गोलाप्रथा) गरेका हुन् ।


खेतमा रोपाई गर्नका लागी गत ६ गतेनै गोलाप्रथा गरेपनि असार १५ को विशेष दिनमा आफ्नो रोपाइँ परेको निगाले गाँउका स्थानिय गोकर्ण रोकायाले बताए ।

जिउलोमा रहेका ३०० बढी खेतहरुमा अगाडी रोपाई गर्न गाँउलेहरुले एकापसमा भिड्ने र गाँउ सानो भएकाले रोपनेरी, हली र गोरुको अभाव हुने भएकाले प्रतिस्प्रधा नहुने, जनशक्ति पनि उपलब्ध हुने भएकोले चिठ्ठा हाल्ने गरिएको अर्का स्थानिय जानदेवी रोकायाले बताइन् । 


चार बर्ष यताबाट रोपाई गर्न चिठ्ठा हाल्न थालिएपछि गाँउलेहरु आफ्नो पालो परेको दिनमात्र रोपाई गर्ने गर्छन् । गोलाप्रथा अनुसार रोपाई गर्न थालिएपछि रोपाहा, खेताला, गोरु र पानीको अभाव हुने गरेको छैन, गाँउलेहरु विच रोपाईकै विषयलाई लिएर झगडा हुने क्रम पनि रोकिएको छ  ।

चिठ्ठामा रोपाई गर्ने महिना/गते उल्लेख गरिएको हुन्छ, जसलाई जुन गते महिना पर्छ सोहि दिन मात्र आफ्ना खेतहरुमा रोपाई गर्नुपर्ने हुन्छ । यो बर्षको चिट्ठा हाल्ने काम भैसकेको र सोहि अनुसार सोमबारबाट निगाले जिउलोमा रोपाई शुरु भएको गाँउलेहरु बताउछन् ।


जिल्ला सदरमुकालाई बार्है महिना तरकारी उपलब्ध गराउने यो गाँउ जिल्लाका अन्य गाँउहरु भन्दा नमुना मानिन्छ । यो गाँउमा जाने सरकारी तथा गैर सरकारी संघ-सस्थाहरुको योजना तथा कार्यक्रम विना विवाद गाउलेहरुको सहमतीमा पारदर्शि रुपमा सम्पन्न हुदै आएका छन् ।

निगाले जिउलोमा धान, गहु, जौ का अलावा यो बर्षबाट लसुन खेती पनि गर्न थालेको र यो बर्ष लसुन उत्पादन राम्रो भएको स्थानीय कृषकहरुले जानकारी दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!