१ अर्ब ४५ करोडमा १ सय २२ किमि ट्रयाक खुल्यो कर्णाली करिडोर

Posted on: 01 Mar, 2021

दान बहादुर बुढा । फाल्गुन १६, मुगु । कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालु देखि हुम्लाको बालुकुना १ अर्ब ४५ करोड रकमले १ सय २२ किलो मिटर सडकको ट्रयाक खुलेको छ । खुलालुदेखि हुम्लाको सली सल्ला सम्मको १ सय २३ किलो मिटर मध्ये अब एक किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी रहेको छ ।


२०७१ चैतदेखि नेपाली सेनाले सडक निर्माणको काम थालेको कणाली करीडोर निर्माणमा २ अर्ब ८४ करोडको बजेट प्रस्ताव गरिए पनि अहिले सम्म १ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपैयाँ बाट सडक निर्माणको काम चलिरहेको छ । 


निर्माणको जिम्मा लिएको ७ वर्ष भित्र १ सय २२ किमि सडक निर्माणको काम पूरा भएको सडक निमार्ण कार्यदलका प्रमुख (सेनानी) मिलन कार्कीले बताएका छन । ‘बाँकी १ किलो मिटर सडकको काम आगामी वैशाख सम्म सक्ने लक्ष्य रहेको  छ, कार्कीका अनुसार ‘लक्ष्य अनुसार काम भए चालू आर्थिक वर्ष भित्रै सडक सरकारलाई हस्तान्तरण गर्ने हिसाबले काम धमा धम भैरहेको छ  ।’ ट्रयाक निर्माणको काम पूरा भएपछि केही ठाउँमा सडक चौडा बनाउने, टेवा पर्खाल लगाउने लगायत काम अन्य काम पनि गरिने बताएका छन ।


हिजो आज कालीकोटको खुलालु देखि हुम्ला बालुकुना सम्मको १ सय २१ किलोमिटर ट्याक खुलेका सडकमा जिप र साना सवारी साधन सञ्चालनमा आई रहेकोे सेनानी कार्कीले बताए । यातायात सञ्चालन भएपछि कालीकोट, हुम्ला, मुगु र बाजुराका स्थानिय बासिन्दाको आवतजावत निकै सजिलो भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी सहज बनेको छ । 


करिडोरको ट्रयाक खुलेपछि नेपालगन्ज, सुर्खेत लगायतका ठाउँ आउन जाउ गर्न धेरै सुविधा पुगेको गाढी चल्न थाले पछि दैनिक उपभोग्य बस्तुहरु पनि सस्तो सहजरुपमा पाईन थालेको  सोरु गाँउपालिका वडा नम्बर ४ कालिका आधारभुत बिद्यालयका शिक्षक अंग बहादुर बुढाले बताए । ‘सडक निर्माणले रोजगारी पनि पाएका छौं,’ उनले भने, स्थानिय उत्पादन ‘कृषिजन्य बस्तुले सजिलै बजार भाउ  पाएको छ ।’

हुम्लाको सरिसल्ला देखि सिमकोट सम्मको ५१ किलो मिटर मध्ये ३५ किमि सडक निर्माणको काम सडक डिभिजन र स्थानीय तह मार्फत काम भइरहेको छ । अब करिडोरको १६ किलोमिटर मात्र ट्रयाक खुल्न बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । बाँकी रहेको १६ किलोमिटर सडक निर्माणको काम पनि सेनाले गरे कणाली करिडोरको सडक छिट्टै सञ्चालनमा आउने सर्केगार्ड गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताएका छन । ‘सेनालाई जिम्मा दिए काम छिटो हुन्थ्यो,’ उनले भने, ‘हामीले पनि निर्माणलाई तीव्रता रुपमा दिइरहेका छौं । सडक खण्डमा काम गर्ने करिब २ सय ५० जना दक्ष कामदार खटिएका छन् । 

सडक निर्माण् कार्यदलका अनुसार अहिले सम्म करिडोर निर्माणको काममा खटिएका ६ जनाले ज्यान गुमाइसकेका छन् । कालिकोटमा ४ र हुम्ला खण्डमा २ जनाको सडक निर्माणका क्रममा ज्यान गएको छन भर्ने  मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिइएको सेनाले जनाएका छन । करिडोर निर्माणमा २ अर्ब ८४ करोडको बजेट प्रस्ताव गरिए पनि अहिलेसम्म १ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपैयाँबाट सडक निर्माणको काम चलिरहेको कार्कीले बताए ।

कर्णाली करिडोर अन्तर्गत विभिन्न ५ ठाउँमा नेपाली सेनाले ५ वटा बेलीब्रीज पुल समेत निर्माण गरेको छन । एउटा बेलीब्रीजको निर्माणको काम जारी रहेको सडक निर्माण कार्यदलले जनाएको छ । कालिकोट खण्डमा २, बाजुरा खण्डमा १ र हुम्लामा २ वटा पुल निर्माणको काम सकिएको सेनानी कार्कीले बताए छन । उनका अनुसार कालीकोटको खुलालुमा पुल निर्माणको काम जारी छ । हुम्लाको सरिल्लास्थित कर्णाली नदीमा भने सडक डिभिजन कार्यालयले बेलीब्रीज निर्माण गरि रहेको छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!