पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट

Posted on: 24 Feb, 2017


फागुन १३, मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । 

विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् । 

विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर हिमाल सहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्था मध्यको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार २९–सिटे यती एअरलाइन्सको जहाजमा २२ जना जान मिल्नेगरी विराट एक्स्पोलाई लक्षित गरेर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ । विराटनगरबाट पहिलो फ्लाइट शनिबार हुनेछ भने सोमबारसम्म नियमित माउन्टेन फ्लाइट हुने जनाइएको छ । काठमाडाँैबाट एक घन्टा ५ मिनेटमा अवलोकन गर्न सकिने हिमशृङ्खला विराटनगरबाट ५० मिनेटमा नै हुने श्रेष्ठले बताउनुभयो । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले अहिलेको अवस्थामा पूर्वमा धेरै सम्भावना रहेको भएपनि त्यो हुन नसकिरहेको अवस्थामा त्यो पुष्टि गराउन र सरकारलाई दबाब दिनका लागि यो एउटा नयाँ अभ्यास हुने तर्क गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!