११ लाखमा खरिद गरेको एम्बुलेन्स जनप्रतिनिधिको मिलोमतोमा बिक्री

Posted on: 05 Feb, 2021

माघ २३, विराटनगर । अशक्त एवं असहाय बिरामीलाई सहज रुपमा अस्पताल र स्वास्थ्य संस्थासम्म जीवन बचाउनका लागि खरिद गरिएको एम्बुलेन्ससमेत विक्री गरेकामा मोरङको बेलबारी नगरपालिकाका नागरिकले गुनासो एवं आक्रोश व्यक्र गर्नुभएको छ ।

लायन्स क्लब अफ बेलबारीले सामाजिक हितका लागि खरिद गरिएको एम्बुलेन्स जनप्रतिनिधिलगायतको मिलोमतोमा बिक्री गरिएकामा संस्थाको समेत बेइज्जती भएको क्लबका अध्यक्ष खेमप्रसाद गौतमले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

लायन्स क्लब बेलबारीले सन् २०११ मा सांसद विकास कोषको रु तीन लाख र क्लबका अन्य सदस्यबाट रकम सङ्कलन गरी राजश्व छुटमा रु ११ लाखमा  खरिद गरिएको को१च ५७९४ नम्बरको टाटा सुमो सेतो रङको एम्बुलेन्स विसं २०७० मा नगरपालिकाका हालका प्रवक्ता तथा वडा नं–३ का अध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बिक्री समिति बनाएर बिक्री गरिएको थियो । 

एम्बुलेन्स बिक्री भएपछि हरेक वर्ष क्लबका अध्यक्ष परिवर्तन भए पनि  यसको खोजी नभएको र सन् २०२० मा  आफू नेतृत्वमा आएपछि खोजी गरिएको तथा पटक÷पटक पुरानो समितिलाई यसबारे जानकारी माग्दा बेवस्ता गर्नाका साथै कुनै जवाफ नपाइएको उहाँले जानकारी दिनुभयो । गरीब तथा असहायको सामाजिक कार्यका लागि खरिद गरिएको उक्त एम्बुलेन्स अविलम्ब क्लबलाई फर्काउने व्यवस्थाका लागि सबैसँग अध्यक्ष गौतमले आग्रह गर्नुभयो ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!