नैसेलुङडाँडा पर्यटकीय गन्तव्य बन्दै

Posted on: 09 Aug, 2016



पथरी (मोरङ), २५ साउन । उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । 

टाडी गाविस–२ मा अवस्थित नैसेलुङडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टाडीवासी लागिपरेका हुन् । मोरङको उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि एक किलोमिटर उत्तर हुँदै नैसेलुङडाँडामा पुग्न सकिन्छ । टाडीको रतनपुरमा अवस्थित यो डाँडामा पुग्ने जोकोही पनि यहाँको प्राकृतिक सौन्दर्यतामा रमाउन सक्छ । 

नैसेलुङडाँडाबाट तराईका समथल भू–भागका अलावा मधुमल्ला, उर्लाबारी, दमक चोक देखिनुका साथै, टाडीको सबैभन्दा ठूलो साखरे बगरको दृश्यावलोकन, मिक्लाजुङडाँडा र चुरे पहाड देख्न सकिन्छ । नैसेलुङडाँडाबाट टाडीको अर्को पर्यटकीयस्थल चुलीपोखरीको डाँडा समेत देख्नसकिने स्थानीय चन्द्र फागोको भनाइ छ । 


नैसेलुङडाँडा पर्यटन विकास समितिले यहाँ रु १४ लाखको लागतमा आगामी असोजदेखि भ्यू टावर निर्माण गर्ने भएको छ । भौतिक संरचना निर्माण कार्य सुरु भइसकेको पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेनले बताउनुभयो । पिक्निक स्पटको लागि आवश्यक पर्ने चौर निर्माण कार्य पनि सुरु गरिएको मादेनको भनाइ छ । 

२०७४ वैशाखमा फ्रि–वाइफाइसहितको भ्यूटावर निर्माण सम्पन्न हुने मादेनको दाबी छ । दुई बिगाहा क्षेत्रफलमा फैलिएको नैसेलुङडाँडा पर्यटकीय क्षेत्रको विकासका लागि टाडी गाविसको २०७३÷२०७४ को गाउँ परिषद्ले रु दुई लाख बजेट स्वीकृत गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!