प्रदेश १ बाट पनि श्रम स्वीकृति प्रदान, कतारका लागि विजय खड्काले लिए पहिलो स्वीकृति

Posted on: 06 Feb, 2019

माघ २३, विराटनगर – आजदेखि प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति दिन थालिएको छ ।  विराटनगरबाट पहिलो श्रम स्वीकृती धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेका विजय खड्कालाई दिइएको संगै श्रम स्वीकृती दिन थालिएको हो । 


एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विजयलाई कतारको लागि पुन : श्रम स्वीकृत प्रदान गर्नुभएको हो । तीन महिनाको विदामा घर आउनुभएका विजयले विराटनगरबाटै श्रम स्वीकृती पाएपछि खुशी लागेको बताउनुभयो । 

काठमाण्डौ गएर श्रम स्वीकृत लिन निक्कै समय लाग्ने र झण्झटिलो हुँदा धेरै खर्च लाग्ने भन्दै उहाँले आफ्नै ठाउँबाट श्रम स्वीकृति लिन पाउँदा खर्च र समयको बचत भएको बताउनुभयो । 

उहाँ जस्ता धेरै श्रम स्वीकृतिको लागि विराटनगरमा रहेको श्रम कार्यालयमा आउन थालेका छन् । पहिलो चरणमा नै श्रम स्वकृती प्रदान गर्ने भनिएको विराटनगर श्रम कार्यालयमा विभिन्न कारण देखाउँदै मन्त्रालयले पोखरा र बुटवलबाट मात्र पहिलो चरणमा श्रम स्वीकृती दिन थालेको थियो ।

कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । 

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!