महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने

Posted on: 16 Feb, 2021

फागुन ४, महेन्द्रनगर । गौचरनको रूपमा परिणत भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो ।

सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको रोहवरमा विमानस्थल विस्तार तथा विकाससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमख सुरेन्द्र विष्ट तथा दोधराचाँदनी नगरपालिकाका प्रतिनिधि वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र बहेकको उपस्थिति थियो । 

सम्झौतापत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्ट र दोधराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरी आदनप्रदान गर्नुभएको हो । 

सो अवसरमा पर्यटन मन्त्री ढकालले महेन्द्रनगर विमानस्थलको विस्तार र विकासमा तीन तहका सरकारको साझेदारी सबैका लागि खुशीको विषय भएको बताउनुभयो । उहाँले विमानस्थल विकासको सम्झौताको भावनाबमोजिम सम्बन्धित निकायले जिम्मेवारीपूर्वक प्रभावकारी कार्यान्वयनमा लैजान आग्रह गर्दै त्यस क्रममा कुनै समस्या आइपरेमा सङ्घीय सरकारले सहजीकरण गर्ने स्पष्ट पार्नुभयो । 

मन्त्री ढकालले भन्नुभयो, “विगतमा पनि पवित्र उद्देश्यले लागेका अभियानमा कहिले मुआब्जा बढाउने तथा विभिन्न बहानामा बखेडा झिकेर आयोजनालाई नै प्रभावित पार्ने प्रवृत्ति रहेको भन्दै विमानस्थल विकास र विस्तारमा गलत दृष्टिकोण नपरोस् भन्नेतर्फ सजक रहनुस् ।”

पर्यटन मन्त्रीले पछिल्लो समय विमानस्थल बनाउने होडबाजी चलेको र खासगरी निर्वाचनका बेला यस्ता एजेण्डा अगाडि बढाउने गरिएको प्रशङ्ग उल्लेख गर्दै आवश्यकता र औचित्यताका आधारमा विमानस्थल बनाउने सरकारको नीतिअनुरुप महेन्द्रनगर विमानस्थल सम्भावना बोकेको प्राथमिकतायुक्त आयोजना भएको बताउनुभयो । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले क्षेत्रीय उडान, धार्मिक पर्यटन प्रवद्र्धनका हिसाबले महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तव्य भएकाले तीन तहका सरकारको साझेदारीमा विमानस्थलको विकास र विस्तारको कामलाई अघि बढाइने बताउनुभयो ।

क्यानका महानिर्देशक पोखरेलले अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुरुप पूर्वको भद्रपुरदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको विमानस्थलको विस्तार तथा विकासका लागि गुरुयोजना तयार भइसकेको र महेन्द्रनगर विमानस्थल सोही योजना अन्तर्गत विकास गरिने जानकारी दिनुभयो । 

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल प्रदेशको समृद्धिले नै मुलुकको आर्थिक समृद्धिको ढोका खोल्ने भएकाले महेन्द्रनगर विमानस्थल रणनीतिक महत्वको आयोजना भएको उल्लेख गर्नुभयो । समझदारी पत्रअनुसार प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधरा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्नेछन् भने सङ्घीय सरकारको तर्फबाट क्यानले ५० प्रतिशत लगानी गर्ने सम्झौतापत्रमा उल्लेख छ । महेन्द्रनगर विमानस्थलको हालको धावनमार्गको लम्बाई कम्तीमा एक हजार ६०० मिटरसम्म विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरी विमानस्थललाई ‘थ्रिसी क्याटोगोरी’स्तरको आधुनिक सुविधा सम्पन्न विमानस्थलमा स्तरोन्नति गरिने छ ।

क्यानले सो कार्यका लागि आवशयक सहयोग, समन्वय र अनुगमन गर्नेछ । समझदारीको कार्यान्वयनमा कुनै समस्या आएमा पर्यटन मन्त्रालयले समन्वय गरी विवाद समाधान गर्नेछ । यसअघि प्रदेश नं १ को विराटनगर र कर्णाली प्रदेशको सुर्खेत विमानस्थल विस्तार तथा विकासका लागि तीन तहका सरकारबीच साझेदारीपत्रमा हस्ताक्षर भएको थियो ।

महेन्द्रनगर विमानस्थल विगत लामो समय सञ्चालनमा आएर पनि बन्द भएको थियो । क्यानका महानिर्देशक पोखरेलका अनुसार तत्कालीन हवाई विभागअन्तर्गत सन् १९६३ मा स्थापना भएको यो विमानस्थलबाट नेपालगञ्ज र नेपालगञ्जदेखि काठमाडौँ उडान हुने गरेको थियो । 

सुदूरपश्चिमका दुर्गम पहाडी भेगको उडान तथा क्षेत्रीय उडान सञ्चालनका लागि महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तव्य मानिन्छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली महेन्द्रनगरदेखि करीब साँढे तीन किलोमिटर दूरीमा पर्छ । सो क्षेत्रमा सुक्खा बन्दरगाहा निर्माणको योजना रहेको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!